म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले स्वच्छ र सफा बावियाचौर बजार अभियान सुरू गरेको छ। क्याम्पसको आयोजनामा मंगलबारदेखि ‘मेरो मंगला म आफै सफा गर्छु’ भन्ने अभियान अन्तरगत मंगला मावि तथा बजारमा फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने कार्य सुरु भएको हो ।

सञ्चालक समिति, विषय शिक्षक तथा विद्यार्थीको सहभागितामा सुरु भएको सरसफाई अभियानमार्फत बावियाचौर बजारमा फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । ‘विद्यार्थीलाई कक्षा कोठामा मात्रै सिमित राख्दैनौ,‘समुदायसँगै घुलमिल हुने गरी सन्देशमुलक कार्यहरु सुरु गरेका छौ’ अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले क्याम्पसको अभियानमा बजारबासीको समेत साथ रहेकाले सुन्दर बावियाचौर बनाउने अभियान बारेमा थप सक्रिय हुने बताउनुभयो । बजारभित्र फोहोर संकलन गर्ने डस्बिन सहित चेतनामुलक कार्यमा गाउँपालिकाको समेत सहयोग लिएर समुदायसँगै सहकार्य गरी बजार सरसफाईको कार्यतालिका समेत बनाउने जनाइएको छ ।

क्याम्पस प्रमुख पितमबहादुर खत्रीले शैक्षिकसँगै समुदायस्तरमा हुने रचनात्मक कार्यहरुमा विद्यार्थीको समेत उपस्थितिमा विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । क्याम्पसले मंगला गापा भित्रका ५ वटै वडामा सचेतनामुलक अभियान सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी आवश्यक तयारीमा समेत जुटेको क्याम्पसको भौतिक संरचनाहरू लाम्पाटामा बनिरहेका छन् ।विद्यार्थीहरुलाई स्नातक तहको शिक्षा गाउँ घरमै उपलब्ध गराउ स्थापना भएको क्याम्पसमा नेपाली शिक्षा, अंग्रेजी शिक्षा, गणित शिक्षा र अर्थशास्त्रमा गरी १४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply