पहिरो बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुदाँ म्याग्दीको धवलागिरी गाउँपालिका-२ को लुलाङ अन्धकार बनेको छ । २० भदौमा बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा सिंगो वडाबासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् ।

लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । दर खोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह,कुलो र पोल बगाएपछि विद्युत अवरुद्ध भएपनि परियोजना पुनर्निर्माण नहुँदा स्थानीयबासीले रातको समयमा सोलार र टुकीको जोहो गर्न बाध्य भएका छन् ।

बाढीले विद्युत गृहसंगै चार वटा पोल र मुहानको केही बाँध तथा कुलो बगाएको लघुजलविद्युत परियोजनासचिव लालबहादुर खड्काथोकीले बताउनुभयो । उहाँका अनुसार बाढीले विद्युतगृहमा रहेका जेनेरेटर लगायत सबै उपकरण खोलाले बगाएको छ ।

विद्युत आपुर्ती बन्द हुँदा वडा नम्बर २ स्थित खोरीया ,लुलाङ्ग ,लमसुङ्ग लगायतका ३५४ घरधुरी प्रभावित भएका छन् । लघुजलविद्युत परियोजना मर्मत नहुदाँ विद्युतको माध्यमबाट चल्ने चार वटा मिल,फर्निचर ,बेकरी उद्योग ,मासु पसल, मोवाइल सेवा समेत प्रभावित भएका छन् । स्थानीयबासीसँगै विद्यार्थीलाई समेत पठनपाठनमा समस्या भएको स्थानीय प्रविना बिकले बताउनुभयो ।

यस अघि २०७३ मा पहिरोले जुगेपानि स्थित २५ किलोवाट क्षमताको विद्युतगृह बगाएपछि सोही परियोजनालाई २०७५ मा मरेनीको फेदीमा स्थानान्त्रण गरिएको हो । गाउँपालिकाको ५० लाख र बैकल्पिक उर्जा प्रद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयको श्रमदानमा मरेनीको फेदीमा २०७५ देखी पुनर्निर्माण सूरु गरिएको परियोजना २०७६ कात्तिकमा सम्पन्न भई विद्युत सुचारु गरिएको थियो ।

विद्युत पुनर्निर्माण भएको साढे दुई बर्ष नबित्दै बाढीले विद्युतगृह बगाएपछि स्थानीयबासी थप चिन्तित बनेका छन् । विद्युत गृह ,कुलो ,बाँध र पोल बगाउँदा एक करोड ५० लाख रुपैयाँ बढीको आर्थिक क्षती भएको छ । परियोजना मर्मत तथा पुनर्निर्माणका लागि भौगोलिक अवस्थाको बारेमा सर्भे गरिएको छ ।

परियोजनाको पुनर्निमाण ओसिएन कम्पनीले गरेको थियो । गाउँपालिकाबाट दश लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दश लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । परियोजना पुर्ननिर्माणको लागि १८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी दुई महिना भित्र परियोजना पुनर्निर्माण गरेर विद्युत सुचारु हुने गाउँपालिकाले जनाएको छ ।

 

Leave a Reply