म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतमा मङ्गलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय एक व्यक्तिले नगरपालिकाको लेखा शाखाका कर्मचारीलाई व्यङ्ग्य प्रहार गर्नुभएको छ ।

नगरपालिकाको आयोजना र ’नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाइमा प्रश्न राख्दै पात्लेखेतका मसबिर रोकाले यस्तो व्यङ्ग्य गर्नुभएको हो । वडामा दुईलाख रुपैयाँको बजेटमा योजनाको काम सकेर भुक्तानी लिन नगरपालिकाको लेखा शाखा जाँदा लेखामा कार्यरत कर्मचारीहरु हाँसेर बस्ने गरेको भन्दै स्थानीय रोकाले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘लेखा शाखामा योजनाको भुक्तानी लिन गएको समयमा त्यहाँ काम गर्ने कर्मचारी हाँसेर बस्छन्, गफ गरेर बस्छन् । तर काम गर्दैनन् ।’ उहाँले थप्नुभयो, ‘गाउँबाट बेनी जाने गाडी समयमा पाइँदैन, बल्लतल्ल गाडी चढेर बेनी पुग्यो, नगरपालिकामा जाँदा कागजपत्र मिलेन भन्छन् । कागजपत्र मिलाएपछि पनि काम समयमा हुँदैन । १२ बजेपछि बैंक बन्द हुन्छ । समयमा काम बन्दैन । अनि बेनी बस्ने कि घरमा आउने ?’ भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

स्थानीय रोकाले नगरपालिकाप्रति आक्रोशित हुँँदै भन्नुभयो, ‘गाउँबाट बेनी जाँदा धेरै खर्च हुन्छ । बैंक जाँदा ढिलो हुन्छ । गाडी समयमा पाउँदैन । हाम्रो समस्या कसले बुझिदिने ।’ दुईलाख रुपैयाँको योजनाको भुक्तानी लिन जाँदा पनि धेरै समय लाग्ने गरेको छ । धेरै झन्झट र दुःख बेहार्नुपरेको उहाँको भनाइ थियो । कर्मचारीले ढिलो गरिदिँदा गाउँका उपभोक्ता समस्यामा पर्ने गरेको रोकाले गुनासो पोख्नुभयो । वडामा टुक्रे योजनाहरु धेरै आएको हुँदा स्थानीयस्तरमा त्यसको कार्यान्वयन गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

अधिकांश सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारीले समयमा काम नगर्ने गरेको रोकाको भनाइको आशय बुझिन्थ्यो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उपभोक्तालाई परेको समस्याको बारेमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

उहाँले नगरपालिकाको कुन शाखामा काम लिन जाँदा ढिलाई भएको वा कर्मचारीले काम नगरिदिएको विषयमा आफूलाई जानकारी गराएमा साँच्चै त्यस्तो भएको पाइए कारवाही गर्ने बताउनुभयो । तर बेनी नगरपालिकामा स्थानीय नागरिकको सेवालाई प्राथमिकता दिएर काम गर्ने गरिएको उहाँको भनाइ छ ।

‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको आधार’ भन्ने मूल नारासहित बेनपा–१०, पात्लेखेतमा मङ्गलबार सार्वजनिक सुनुवाई गरिएको थियो । बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकमा सम्पन्न गरेको विकास निर्माण र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको हो ।

Leave a Reply