बेनी नगरपालिकाको निर्देशनमा बजारबासीले धमाधम अतिक्रमण गरि बनाइएको संरचना हटाएका छन्। बजारका घरधनीहरूले सडक अतिक्रमण गरी निर्मित विभिन्न संरचना आफैँ हटाएर नगरपालिकाको अभियानलाई सघाएपनि सडकमा देखिएका खाल्टाखुल्टीमा नगरको ध्यान पुग्न सकेको छैन्।

बेनीबजार रहेको वडा नं ७ र ८ को भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा जताजतै रहेको खाल्टाखुल्टीले दुर्घटनाको खतरा बढेको छ। दैनिक भिडभाड हुने सडकमा सवारीसाधनलाई आवतजावतमा नै समस्या पर्ने गरी सडक बिग्रिए पछि स्थानीयबासीले पटक–पटक जनप्रतिनिधिलाई अनुरोध गरेपनि चासो नदेखाएको पाइएको छ। हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, कालिपुल, गणेशटोल, बालमन्दिर र विरेन्द्र चोकमा खाल्टाखुल्टी देखिएका छन्।

‘खाल्टाखुल्टीका कारण सवारीसाधन अनियन्त्रित हुदाँ दुर्घटनाको जोखिम छ,‘सामान्य मर्मतमा समेत नगरपालिकाको ध्यान जान सकेको छैन’ न्यूरोडका एक ब्यापारीले भने। बजारभित्र पुराना स्पिड ब्रेकर हटाइसकेको र नयाँ स्पिड ब्रेकर समेत नभएको अवस्थामा तिब्र गतिका मोटरसाईकलखाल्टोमा परेमा अनियन्त्रित भएर मानवीय दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको उनले बताए। यसअगाडी नगरपालिकाले असारमा बजेट सक्न हतारहतार उपभोक्ता समितिमार्फत गुणस्तरहीन भएकै कारण पुरिएका खाल्टा वर्षासँगै सडकमा प्वाल देखिएका थिए।

सडकमा साना–साना खाल्टा परेपछि सम्बन्धी निकायलाई ध्यानआकर्षण समेत गराइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले बताए। ‘साधुँरो सडक भएकाले खाल्टाखुल्टीले थप जोखिम निम्त्याउन सक्छ,‘अब छिट्टै मर्मत हुने जानकारी आएको छ’ नेपालीले भने। उनले बजारलाई व्यवस्थित बनाउन बेनी भित्र केही दिनमै लागु हुने गरी ‘वान वे’ हुने बताए ।

उनले बजारभित्र ठूला र साना सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि सुरू गरिएको अभियानलाई समेत सफल बनाउन खाल्टाले सवारी गुडाई नसक्नुको स्थिति आउन दिन नहुने बताए । बेनीबजारसँगै कालिपुलको प्रवेशद्धार नजिकै बाढीले सडकमा क्षती पुगेपछि साना सवारीसाधनलाई आवतजावतमा देखिएको समस्या समाधानमा समेत उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सरोकारवाला निकायको उपस्थितिमा ध्यानार्कषण गराएपनि सुनुवाई हुन सकेको छैन्।‘केह्री घण्टामै काम सकिन्छ,‘ अतिक्रमण गरि बनाइएका संरचना हटाएर मात्रै समस्याको समाधान हुदैन’ अध्यक्ष कटुवालले भने ।

उनले बजारमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् का लागि उचित ब्यवस्थापन हुन सकेमा ब्यापारीलाई समेत सहज हुने र सडकमा समेत सवारीसाधनको चाप घट्ने बताए । सार्वजनिक जग्गामा आम्दानीको नाममा सार्वजनिक स्थानमा संरचना बनाएर ब्यापार गर्ने दिइएकाले ब्यवस्थित पार्किङको समस्या देखिएको छ ।

यता बेनी नगरपालिकाले बजारभित्र सडकमा देखिएको खाल्टाखुल्टी पुर्ने जनाएको छ ।बजारभित्र अतिक्रमण गरि बनाइएको संरचना हटाएपछि बाँकी समस्याहरूको समाधान गरिने मेयर हरिकुमार श्रेष्ठले बताए । सार्वजनीकस्थलमा सरसफाई तथा सुरक्षाका लागि सिसी क्यामरालाई प्रभावकारी बनाउने सरोकारवाला निकायले सुझाव दिएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।

 

Leave a Reply