सदरमुकाम बेनीबजारभित्रको बिहिबारदेखि एकतर्फी सडक नियम लागू हुने भएको छ । बजारभित्र साँघुरो सडकका कारण सवारीसाधन र सर्वसाधारण आउजाउ गर्न कठिन भएसँगै ट्राफिक व्यवस्थापन गर्न भिडभाड हुने सडकमा एकतर्फी सडक नियमलाई कार्यान्वयन गर्न आवश्यक तयारी गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।

बजारका घरधनीहरूले सडक अतिक्रमण गरी निकालिएका टहरा, पाली, लगायतका संरचना हटाउने कार्यले गति लिएसँगै दुवैतर्फबाट सवारीसाधन आवतजावतमा देखिको समस्या समाधान गर्न एकतर्फी सडक मात्रै प्रयोग गर्ने ब्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो।

‘बिहिबारदेखि बजार क्षेत्रमा नयाँ ट्राफिक नियम लागु भएको छ,‘अब तोकिएको रुटबाटै आवतजावत गर्नुपर्ने हुन्छ’ नेपालीले बेनीअनलाइनलाई भन्नुभयो । उहाँले सदरकामलाई सुन्दर र ट्राफिक व्यवस्थापन गर्न नयाँ नियमले सहज हुने बताउँदै सवारीसाधनका चालकलाई सोही रुटको प्रयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

एकतर्फी रुट झन्झटिलो भएपनि पैदलयात्री र सवारीसाधनका प्रयोगकर्तालाई समेत सहज हुने भएकाले नियम अनुसारको रुटको प्रयोगका लागि चेकजाँचलाई समेत कडाई गरिने छ । बिहिबारदेखि लागु भएपनि केही दिन सचेत गराउने र त्यसपछि सूचना नै जारी गरी सोही प्रकृति दोहोरिए जरिमाना गरिने समेत ट्राफिक कार्यालयले जनाएको छ ।

नयाँ नियम अनुसार अव सवारीसाधनका प्रयोगकर्ताले क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालिमन्दिर चोक, बिरेन्द्रचोक, हुलाकचोक हुदै न्यूरोडबाट क्याम्पसचोकसम्मको रुट प्रयोग गर्नुपर्ने छ ।

यो नियम लागु भएपछि कुनैपनि सवारीसाधन न्यूरोडबाट हुलाकचोक हुदै बिरेन्द्रचोकसम्म आउनुपरेमा क्याम्पसचोक हुदै तोकिएको रुटको प्रयोग गरी आउनुपर्ने छ । त्यस्तै क्याम्पसचोक, शिक्षामार्ग, पिपलचोक,अस्पतालचोक क्षेत्रमा भने दुईतर्फी नै सवारीसाधन आवतजावत गर्न मिल्ने बनाइएको छ ।

बजार क्षेत्रका अव्यवस्थित तार, विद्युतको पोल समेत हटाइउने कार्यले समेत प्राथमिकता पाएपछि नयाँ नियम लागु गर्न बेनी नगरपालिकाले अग्रसरता देखाएको थियो । बेनी नगरपालिकाको आर्थिक तथा जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयको प्राविधिक, म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा भएपनि एकतर्फी सवारी रुटका लागि कम्तिमा १ महिना परीक्षणकाल राख्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।

आवश्यक सूचना बोर्ड, सचेतनामुलक कार्यक्रमहरूका साथै सर्वसाधारणलाई समेत रुट प्रयोगमा सहजतामा ध्यान दिनुपर्ने निजी क्षेत्रको भनाई छ । वर्षौंदेखि अस्तव्यस्त रहेको बेनीको पार्किङको समस्यालाई समाधान गर्न एक बर्ष अगाडी देखि लागु भएको एकतर्फी पार्किङ प्रभावकारी देखिएको छ ।

एकतर्फी सवारी रुट, पार्किङको नियम लागु भएपनि बजारभित्रको खाल्टाखुल्टी पुर्ने विद्यालयको बस रोक्न स्थान, भिडभाड हुने स्थानमा जेब्रा क्रस, विगतमा राखिएका कन्भेक्स लेन्सको मर्मत आवश्यकता रहेको बताए । बजारभित्र एकतर्फी सवारी सञ्चालनमा सहज र जटिल दुबै रहेको सरोकारावाला निकायको भनाई छ ।

Leave a Reply