बागलुङ/ उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याई छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् ।
जैमिनी नगरपालिका ४, सर्कुवामा रहेको सुन्तला खेती नै सुवेदी परिवारको मुख्य आयस्रोत हो । झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उनीहरुको दैनिकी हो । गतवर्ष ४ लाखमा बिक्री भएको उनको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् ।

बागलुङ नगरपालिका ८, सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाई गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्का बताउँछन् । ‘व्यापारी आएका छन् तर बिक्री सुरु गरेका छैनौं, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला,’ उनले भने ।

गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका खड्का दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई एक लाख मूल्य बढाएर दिने सोच बनाएका छन् ।
सर्कुवामा सुवेदीको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा सानाठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउँछन् । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममा सुन्तला बिक्री भएको थियो । यो वर्ष मूल्य बढेर ६० देखि ७० रुपैयाँ पुग्ने आशा किसानमा छ ।

‘एक हजार मिटर तल लगाइएको सुन्तलामा रोग लागेको खबर पाएका छौं, उत्पादन कम हुने भएकाले देशभरिको बजारमा हाम्रो सुन्तलाको मूल्य स्वभाविक बढ्छ,’ खड्का भन्छन्, ‘गतवर्ष अन्तिम समयमा हामीले एक सय रुपैयाँ किलोसम्म बिक्री गरेका थियौं ।’

यसवर्ष सुन्तला राम्रो फलेपनि अधिक वर्षाले किरापर्ने र झर्ने समस्या झेल्नुप¥यो । डोके व्यापारीले बगानबाट प्रतिकिलो ५० रुपैयाँमा उठाएको सुन्तला बजारमा १ सय रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झण्डै एक करोड सिगाना भित्रिएको थियो । ‘बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ,’ खड्काले भने ।
|
रोग किराको प्रकोप जिल्लाभरि नै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला र कागती जातका फलफुलमा देखिएको रोग नियन्त्रणका लागि शिविरनै सञ्चालन गरेर सुविधा दिएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । उत्पादन लिने बेलामा देखिने समस्या तत्काल समाधान गर्दा किसानले ठूलो क्षति व्यहोर्नु नपर्ने उनको तर्क छ ।

Leave a Reply