सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालिगण्डकी नदी माथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ। कालिगण्डकी नदी माथि पर्वत-बागलुङ जोड्ने दुई र पर्वत-म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माणकार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्टिए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो।
मुस्ताङको कोरला नाकासम्म पुग्ने सडकअन्तर्गत पर्वतको वारिबेनी-बगरफाँट र म्याग्दीको बेनी जोड्ने कालिगण्डकी नदी माथि बन्ने सडक पुलको दुबैतर्फ सडक छ। तर, बागलुङ डिभिजनले दुबैतर्फ पहुँच सडक नभएको र निजी तथा सार्बजनिक जग्गा भएकाले पुल निर्माण गर्न नसकीने भनी सडक विभागको पुल डिभिजन महाशाखामा गलत पत्रचार गर्दा पुल निर्माण रोकिएको हो।
त्यसैगरी पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्नेगरी कालिगण्डकी नदी माथि बन्ने कल्लेरी सडक पुल तथा बागलुङको जैमिनी नगरपालिको सुस्माघाट र पर्वतको फलेवास नगरपालिका देविस्थान चदारे बौर जोड्नेगरी बन्ने पुल पनि फिल्डमै नपुगी कार्यालयले गरेको गलत रिपोर्टिङले पुल निर्माण सुरु हुन नसकेको हो।
सडक विभाग पुल महाशाखा स्रोतका अनुसार पुल निर्माण प्रक्रियामा जानुअगाडि सम्बन्धित सडक डिभिजनलाई स्थलगत सर्भे गरी पुलको लम्बाई, पहुँचमार्ग तथा जग्गाको अवस्थाबारे जानकारी गराउन पत्रचार गरिएको हुन्छ।
सो पत्रचारअनुसार बागलुङ डिभिजनका तत्कालिन प्रमुख रामेश्वर लम्सालले २०७७ असोज २९ गते फिल्ड अध्ययन नगरी हचुवा र अन्दाजको भरमा तीनवटै पुल निर्माण स्थलमा सडक नभएको, पुलको लम्बाई १०० मिटर रहेको, निजी तथा सार्वजनिक जग्गा पर्ने भन्दै गलत रिपोर्टीङ गरेका हुन्।
पुल निर्माणका लागि हरेक वर्ष बजेट बिनियोजन हुँदा पनि काम सुरु नहुँदा स्थानीयबासी रुष्ट बनेका छन्। सडक डिभिजन कार्यालय र डिभिजन प्रमुख लम्सालको लापरबाहीले गर्दा पुल निर्माण नभएको भन्दै पर्वत र बागलुङका जनप्रतिनिधिहरु समेत आक्रोशित बनेका छन्।
‘सडक डिभिजनले यसरी पत्रचार गरेपछि हामीले पुल निर्माण प्रक्रिया सुरु गर्न मिल्दैन,’ पुल डिभिजन स्रोतले भन्यो, ‘यदी यथार्थ त्यो होइन भने पुल निर्माणस्थलका स्थानीयबासी, जग्गाधनीले लाजपूर्जा तथा जग्गाको मुआब्जा माग नगर्ने प्रतिबद्धतासहित सडक विभागमा निवेदन दिनुपर्छ। साथै सम्बन्धित स्थानीय तहले पुल, सडक निर्माण गर्दा कुनै अबरोध नहुने प्रतिबद्धता सहितको सिफारिस गर्नुपर्छ।अनि मात्रै काम सुरु गराउन सकिन्छ।’पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ कार्यक्षेत्र रहेको सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण यी जिल्लाका थुप्रै पुल तथा सडक निर्माण अलपत्र परेका छन्। समयमा काम हुन नसक्दा करोडौं बजेट फ्रिज हुने गरेको छ।

Leave a Reply