कुनै पनि सहर सफा र सुन्दर हुन फराकिलो र कालोपत्रे गरिएको सडक जस्तै सार्वजनिक शौचालयको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । मानव जिवनमा शौचालय भनेको एउटा सभ्यताको प्रतीक हो । घर, समुदाय, त्यहाँको जनमानस सभ्य छ वा छैन भन्ने कुरा उनीहरूले प्रयोग गर्ने शौचालयबाट झल्किन्छ ।

सार्वजनिक शौचालय नभएमा खुलारूपमै शौच गर्न बाध्य हुन्छन् । शौचालयको प्रयोग हरेक मानिसको सभ्यताको मापदण्ड बन्ने गरेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजारमा ब्यवस्थित सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारणले निजी र सरकारी कार्यालयको शौचालय खोज्दै जानुपर्ने अवस्था छ ।

दैनिक सयौंको संख्यामा आवतजावत गर्ने बेनीबजारको पुस्तकालय चोक नजिकै रहेका सार्वजनिक शौचालय डेढ दशकदेखि बन्द अवस्थामा छ । तत्कालिन अर्थुङे गाविसले बनाएको शौचालयको मर्मत तथा नियमित सञ्चालन गर्न नसक्नु लज्जाको विषय बनेको छ ।

बेनीबजार भित्र कालिपुल बसपार्क, बहुउद्देश्यीय मैदानको कृषि उपज केन्द्रको टहरामा बनाइएको शौचालय शौचालयको व्यवस्थापन गरिएकै छैन। सार्वजनिक शौचालय नजिक पुग्ने जोसुकै नाक छोप्न बाध्य हुन्छन् भने महिला र बालबालिकाका लागि झनै सकस हुने गरेको छ । मापदण्ड अनुसारका शौचालय सञ्चालनमा नगरपालिकाले समेत चासो देखाएको छैन् ।

नगरपालिकाले सदरमुकाम बेनीमा आधा दर्जनभन्दा बढी शौचालय रहेको दावी गरेपनि ती सबै अहिले सञ्चालनमा छैनन्। सदरमुकाम बेनीबजार भित्र कम्तीमा ब्यवस्थित ३ वटा सार्वजनिक शौचालय आवश्यकता रहेको सरोकारवालाको अनुरोधलाई समेत सम्बन्धित निकायबाट बेवास्ता भइरहेको छ ।

नगरपालिकाले बन्द अवस्थामा रहेको सार्वजनिक शौचालय खोल्न चासो नदिने तर आसपासका क्षेत्रमा रहेको खाली ठाउँ भाडामा दिएर आम्दानी गर्ने गरेको भन्दै स्थानीयले समेत आक्रोश समेत पोख्ने गरेका छन् । तत्कालिन समयमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामार्फत गलेश्वर बजार लगायत विभिन्न स्थानमा निर्मित शौचालयको समेत मर्मत तथा नियमित सञ्चालनका लागि आवश्यक पर्ने सरसफाईमा समेत ध्यान दिन सकिएको छैन् ।

सार्वजनिक शौचालय सफा भयो भने तुलनात्मक रूपमा त्यहाँका मान्छे राम्रा पनि हुन्छन् । सार्वजनिक तथा घरहरूको शौचालय प्रदूषित छ भने त्यहाँका मान्छेको शारीरिक तथा मानसिक अवस्था त्यस्तै खालको हुन सक्ने आँकलन गर्न सकिन्छ। शौचालय फोहोर गर्ने र त्यसप्रतिको सोच परिर्वतन गराउन आवश्यक छ ।

शौचालय सफा छ भने घरका व्यक्तिहरू सचेत, सभ्य र सुसंस्कृत छन् भन्ने अर्थ लाग्छ । शौचालय व्यवस्थित र सफा शौचालय भएमा सरुवा रोगको महामारी फैलिने जोखिम समेत अत्यन्त कम हुन्छ भने सरुवा रोगका बिरामीको संख्यामा कमी आउँछ । सार्वजनिक जग्गालाई स्थानीय तहले भाडामा दिएर कमाइको भाँडो बनाउनुभन्दा बन्द भएका शौचालय ब्यवस्थित बनाउन अब ढिलाई गर्नु हुदैन् । बजारभित्रका शौचालय अपाङ्गमैत्री पनि हुनुपर्छ। बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply