गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने काभ्रेभीर फुटाउनका लागि ६० टन विष्फोटक पदार्थ प्रयोग गरिने भएको छ ।

मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको काभ्रेभीरमा डोजरको सहायताले मात्रै मापदण्ड अनुसारको सडक विस्तार सम्भव नभएपछि विष्फोटक पर्दाथको प्रयोग गरी सडक विस्तार गरिने बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

सडकखण्ड अन्तरगत कहालीलाग्दो भिर फुटाउन ५० टन विष्फोटक पदार्थ स्वीकृत भइसकेको र थप १० टनका लागि प्रक्रियामा रहेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘सडकखण्डको सबैभन्दा चुनौती नै काभ्रेभीर हो,‘हेभी इक्युमेन्टले भिर फटाउन सम्भव नै छैन’ आयोजना प्रमुख प्रजापतिले भने । विगतमा सडक अवरुद्ध भएपछि मात्रै हेभी इक्यूमेन्टको प्रयोगले अवरुद्ध पन्छाउन नसकेपछि मात्रै विष्फोटक पदार्थको प्रयोग गर्ने गरिएको थियो ।

यसबर्ष जोखिमपूर्ण स्थानको पहिचान गरी नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ नै प्रयोग गर्ने प्रमुख प्रजापतिको भनाई छ । काभ्रेभीरको १.२ किमी सडक विस्तारमा विष्फोटक पदार्थको प्रयोग गरिने छ ।

सडकखण्डमा सबैभन्दा धेरै सवारीसाधन दुर्घटना भएको र पैदलयात्रीको समेत ज्यान गएकाले आयोजनाले काभ्रेभीरको यात्रा सहज र सुरक्षित बनाउन फराकिलो सडक सहित जोखिमपूर्ण स्थानमा थप सुरक्षाका उपायहरूको समेत प्रयोग गर्ने जनाइएको छ ।

काभ्रेभीरमा पहाडबाट निस्कने भूमिगत पानी र कमजोर भू–बनावटका कारण बर्षेनी सडक अवरुद्ध हुने गरेको छ । उक्त स्थान अत्यन्त जोखिम भएकाले बर्खाको समयमा पैदलयात्रीले समेत ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

१३ वटा खण्डमा काम भइरहेको १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्मको सडकखण्डमा आयोजनाले काभ्रेभीरलाई सबैभन्दा जोखिमको सूचीमा राखेर काम गरिरहेको छ । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

Leave a Reply