म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको हरियाली ग्रुप प्रालीले गत आर्थिक बर्ष २०७७÷७८ मा झण्डै चार करोडको कृषि उपज बिक्री गरेको छ । शनिबार सम्पन्न भएको तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभामा एक बर्षको अवधिमा तीन करोड ९३ लाख १७ हजार बारबरको तरकारी, अण्डा, कुखुरा, चल्ला, कालिज, माछा लगायत कृषि उपज बिक्री गरेको हो ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखेर तीन बर्षअघि कम्पनीको अगुवाईमा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ६४ जनाको रु. पाँच करोड लगानीमा स्थापना भएको हरियालीले सिंगा र आँगेबगरमा १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरी कुखुरापालन, तरकारी खेति, माछापालन, कालिजपालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेती गदैं आइरहेको छ ।

प्रालिले कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरेको छ । साधारणसभाको उद्घाटन गदैं राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि नेपालभर हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभयो ।

डा.श्रेष्ठले रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीतिमा जोड दिनुभयो । ‘हरियाली मोडेललाई बुझ्न सकेमा जमिन बाँझो राख्ने समस्या निरुत्साहित गदैं उत्पादनमुलक क्षेत्रमा जमिनको उपयोगमा सहज हुन्छ,‘कृषिमा राज्यको लगानीलाई प्रोत्साहन गर्न यो मोडेललाई देशैभरी प्रयोग गर्न सकिन्छ’ श्रेष्ठले भन्नुभयो ।

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गर्नुभएको थियो । फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर रु. पाँच करोड सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ ।

हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष दण्डपाणी सापकोटाले नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना (एनएसआइपी)को पचास प्रतिशत अनुदान, प्रभु बैंकको तीस प्रतिशत ऋण र सहकारीको बीस प्रतिशत गरि रु. दुई करोड लागतमा ब्यवसायिक बाख्रापालन शुरु गर्न लागिएको जानकारी दिनुभयो । म्याग्दीबाट शुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि बिस्तार भइरहेको प्रालिकी अध्यक्ष चिनीमाया श्रेष्ठले बताउनुभयो । छुट्टा, छुट्टै रुपमा भएको कम्पनी र सहकारीको साधारणसभाले अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिबेदन पारित गरेको छ ।

Leave a Reply