मुस्ताङको घरपझोङ गाउँपालिका ५ सम्ले गाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको मुख्य रोजाइमा परेको छ । नीलगिरि हिमालको काखमा रहेको पर्यटकीय आकर्षण धुम्बाताल स्वदेशी र विदेशी पर्यटकको गन्तव्य बन्दै जान थालेको हो।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि दुई किलोमिटरको दुरीमा पर्ने धुम्बाताल दृश्य अवलोकनका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहार झैँ लाग्छ ।

धुम्बातालको उत्तरतर्फ नीलगिरि हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ । यसै किल्लाको नामबाट जिल्ला सदरमुकाम जोसमोम समेत रहेको घरपझोङ गाउँपालिकाको नामकरण गरिएको स्थानीयवासी बताउँछन् ।

परापूर्वकालदेखि धुम्बातालको जल प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासीको भनाइ छ । ताल हेर्नका लागि स्वदेशी र विदेशी पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदमा चिसोका कारण पर्यटकको सङ्ख्या केही घटे पनि गर्मीयाममा उल्लेख्य मात्रामा देखिन्छ । तालको नजिकैबाट मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सहज होस् भनेर आरामदायी कुर्सी र फोटो खिच्नका लागि कुर्सी राखिएको छ । ती कुर्सीमा बसेर आनन्द लिँदै पर्यटकले तालको पृष्ठभूमिमा फोटो र भिडियो खिच्ने गर्दछन् ।

समुन्द्री सतहबाट दुई हजार नौ सय मिटरको उचाइमा रहेको धुम्बाताल पवित्र बौद्ध तालको रूपमा पनि प्रसिद्ध मानिन्छ । धुम्बातालको लम्बाइ एक सय ५० मिटर र चौडाइ एक सय मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र ’जेरी’ को छायाङ्कन गरेपछि नेपाली युवा पुस्ताले यसलाई ’जेरी ताल’ को नामबाट पनि चिन्ने गरेका छन् ।

हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकको अनुभव छ । त्यहाँ पुगेर तालसँगै वरपरको दृश्यको अवलोकन गर्न पाउँदा आफूलाई आनन्दको अनुभूति मिलेको स्वदेशी पर्यटक अनु घिमिरेले अनुभव सुनाउनुभयो ।

तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछासमेत पालिएको छ । स्थानीयवासीले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन तालमा माछा छोड्ने गर्दछन् । ती माछा कसैले मार्न पाउँदैनन् र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था गरिएको छ । तालमा छाडिएका माछा पर्यटकका लागि आकर्षण बनेका छन् । तालसम्म पुग्न सडक र पदमार्ग बनाइएको छ ।

ताल परिसरमा उज्यालोका लागि बत्ती बाल्न तथा आवश्यक संरचना निर्माण गर्न झन्डै डेढ करोड रुपैयाँ लागतमा डीपीआर तयार गरिएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो ।गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा मुस्ताङको धुम्बाताललाई समावेश गरेपछि यहाँ पर्यटकको आकर्षण बढेको छ ।

Leave a Reply