सीएनएन । पछिल्लो समय हिँड्नु सबैभन्दा लोकप्रिय शारीरिक गतिविधि बनेको छ । विशेषगरी महामारीको समयमा लकडाउनका कारण लामो समयसम्म घरमा बस्नुपरेपछि बाहिर हिँड्नप्रति मानिसहरुको आकर्षण झन बढेको हो । र वास्तवमै फिट हुनका लागि हिँड्नु अत्यन्तै लाभदायक रहेको पाइएको छ ।

यसमा हिँडाइ पनि विभिन्न प्रकारको हुन्छ जसमा सामान्य एक्सरसाइजका रुपमा हिँड्नु भनेको घर बाहिर, पार्कमा, ट्रेडमिलमा हिँड्नु हो । अर्को भनेको प्राकृतिक ट्रेलमा केही लामो समयसम्म हिँड्नु हो जसमा उकालो, ओरालो सबै किसिमका सजिलो तथा अफ्ठेरो बाटोहरु पर्न सक्छन् । यी दुवै हिँडाइ हाम्रो मुटुका लागि एकदमै राम्रो एक्सरसाइज हो जसले कोलेस्ट्रोल अनि रक्तचापको स्तर सन्तुलित राख्न मद्दत गर्दछ । हिँड्नु सबै उमेर समुहका लागि अत्यन्तै स्वस्थकर भएको पनि विज्ञहरु सुझाव दिने गर्दछन् ।

यसमा पनि ‘हाइकिङ’ जानुले अझ छोटो समयमा धेरै क्यालोरी ‘बर्न’ गर्न सक्ने हुँदा तौल नियन्त्रणका लागि यो सबैभन्दा उपयुक्त हुने बेन्टली हार्ट मेडिकल सेन्टरकी डाक्टर फहमी फेराह बताउँछिन् ।

यसले फोक्सोको प्रस्तुतीमा ठूलो सुधार ल्याउने अर्का फिटनेस विज्ञ डेरिल हिगिन्स बताउँछन् । हामीले कस्तो प्रकारको फिटनेस प्राप्त गर्न चाहन्छौँ त्यही किसिमको शारीरिक गतिविधिमा लाग्नुपर्ने उनले बताए । त्यसैले तौल नियन्त्रण गर्नुछ भने हाइकमा जानु सबैभन्दा उत्तम छनोट हुने उनले बताए ।

हाम्रो तौल कति छ त्यहि आधारमा हामीले कति लामो ट्रेलमा जाने र कत्तिको वजनदार भारी बोक्ने भन्ने निर्णय लिन सकिन्छ।

जस्तै हामीले सामान्य हिँड्दा एक माइलमा १०० क्यालोरी घटाउन सक्छौँ तर हाइक जाने हो भने त्यो भन्दा दुई गुणा बढी क्यालोरी घट्नेछ । र यसमाथि हामीले भारी सामान पनि पछाडि बोकेका छौँ र पहाडी क्षेत्रमा कठिन ट्रेलतर्फ यात्रा गरिरहेका छौँ भने प्रति घण्टा ५०० क्यालोरी सम्म घटाउन सकिन्छ ।

हिँड्दा खुट्टा सँगै हात पनि हल्लाएर छिटो छिटो अगाडि बढ्दा यो अर्को किसिमको एरोबिक एक्सरसाइजमा परिणत हुनेछ र थप क्यालोरी घट्ने मेयो क्लिनिकले जनाएको छ ।

यसैगरी स्ट्रेसका लागि पनि शारीरिक अभ्यास अत्यन्तै राम्रो हुन्छ । एक्सरसाइजले मान्छेलाई सजक, सतर्क बनाउँछ र ध्यान बढाउँछ भने समस्त रुपमा बौद्धिक क्षमतामा पनि सुधार ल्याउँछ । यसमा पनि घर बाहिर प्रकृतिमा गइ व्यायाम गर्नुका छुट्टै बौद्धिक फाइदा छन् ।

जस्तै प्राकृतिक वातावरणमा दश मिनेट बस्नुलेपनि हामीमा हर्ष बढाउने र मानसिक तनाव घटाउन सक्ने शक्ति राख्दछ । यसकारण विशेषगरी हाइकमा जाँदा गन्तव्यमा पुगिसकेपछि हामीले हेर्न पाउने सुन्दर दृष्यले वास्तवमै शरीर र मन दुवैका लागि आनन्ददायक हुनेछ ।

हाइकमा जाँदाको यात्रा समेत आफैँमा शान्तिपूर्ण हुन्छ । यसकारण जिममा गएर एक्सरसाइज गर्नुको सट्टा हाइक जान स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् । Source: baarakhari.com

 

Leave a Reply