यो पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका वडा नं २ सिमलचौरको दृष्य हो । सडकमा करिब आधा दर्जन साना–सानापोखरी छन् । हिउँदामा धुलाम्मे सडकमा यात्रा गर्ने यात्रुले सवारीसाधनमा आवतजावत गर्दा सडकमा नभई मिनी पोखरीमा डुंगामा सवार भएको महसुस हुन्छ ।

बर्षाको बेलामा मात्र नभई हिउँदाको चर्को गर्मीमा समेत सडकको हालत उस्तै देखिन्छ । १२ महिना सडक जलमग्न छ । साना सवारीसाधन पोखरीबाट तर्किएर आवतजावत गर्ने गरेपनि पोखरीमा फसिहाले घुँडाघुँडासम्म आउने पानीमा खोला तरेजसरी नै यात्रा गर्नुपर्छ । बस्ती नजिकैको सडकको कारण यात्रु मात्रै नभई स्थानीय समेत आजित भएका छन् ।

म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजना अन्तरगत समानान्तर–लामा जेभीले पोखरी बनेको सडकलाई चिल्ला र फराकिला बनाउनुपर्नेमा कामै नगरेपछि यात्रुले हिउँदमा नै हिलाम्य र धुलाम्यमा यात्रा गर्न बाध्य छन् । उक्त सडक नजिकै पुगेपछि यात्रुले असारे झरीसँगै बर्खाको समयमा हुने त्रासमय यात्रालाई बिर्साउँछ।

ठेकेदार कम्पनीले हाल तातोपानीसम्मको ९ किलोमिटर सडकमा काम गरेपनि ३.५ किमी तातोपानी–सिम सडकमा ध्यान दिएको छैन् । निर्माण कम्पनीको चरम लापरबाही र बेवास्ता, पूर्वाधार कार्यालय म्याग्दीलेअनुगमन गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन नसक्नु र म्याग्दीका राजनीतिक दलको उदासिनताले सडकको अवस्था बेहाल बनेको छ ।

सडकखण्डको पानी पन्छाउन मंगला गाउँपालिकाले समेत यसअगाडी खर्च गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘ठेकेदारको लापरवाहीले समस्या भएको छ,‘धेरैपटक सडकमा समयमै काम गर्न ताकेता गरियो,‘हामीले ठेकेदारलाई समेत भेट्न पाएका छैनौ’ अध्यक्ष रोकाले भने । सडक मर्मतसँगै निर्माणको कार्य समयमै सम्पन्न गर्न निरन्तर दबाब दिने बताए ।

यता पूर्वाधार कार्यालयका प्रमुख सन्तोष अर्यालले ठेकेदारले विभिन्न बाहना बनाएपनि अव अन्तिम बिकल्प नै सडक विस्तार भएको बताए । उनले ३.५ किमी सडकको बाँकी काम चैत्र महिनाभित्र सम्पन्न सम्झौता भएकाले बेनी–तातोपानी खण्डमा कालोपत्रे सुरु भएपछि मजदुरलाई उक्त खण्डमा परिचालन गर्ने ठेकेदारले प्रतिबद्धता जनाएकाले अबको बर्खाभित्र सडकको हिलोको समस्या समाधान हुने बताए ।

Leave a Reply