म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीयस्तरमा विवाद समाधान गर्नका लागि मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण तालिम (कार्यक्रम) आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले स्थानीयस्तरमा हुने विभिन्न प्रकृतिका विवादलाई वडा तहमै समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिमपश्चात् स–साना विवादलाई मेलमिलाप गराई समाधान गर्न सहज हुने बताउँदै सानातिना विवादलाई स्थानीयस्तरमै समाधान गरिने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले परम्परागत रुपमा पनि गाउँ तहमा हुने विवाद समाधान गरिँदै आइरहेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा हने घरायसी तथा जग्गासम्बन्धी र लेनदेनका विवादलाई स्थानीयस्तरमा मिलाउन नसक्दा अदालतसम्म आउन सक्ने भएकाले त्यसको दीगो समाधानका लागि पनि तालिमले आवश्यक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले सानातिना विवादलाई वडा र न्यायिक समितिमार्फत समाधान गर्ने गरिएको बताउँदै संविधानले गरेको व्यवस्थाअनुसार कार्यपालिका सँगसँगै न्यायपालिका र व्यवस्थापिकाको काम समेत गरिएको बताउनुभयो ।

कार्यक्रममा आईडीजीका कार्यकारी निर्देशक एवं सुशासन, मेलमिलाप विशेषज्ञ डाक्टर मुक्ति रिजालले तालिमको अवधिभरमा भूमिका, अभिनय र रोलपेले गर्नुपर्ने भएकाले सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिइने बताउनुभयो । उहाँले तालिमका सहभागीहरुलाई तालिम अवधिभर पूर्ण रुपमा समय दिएर सक्रिय सहभागिता जनाउन आग्रह समेत गर्नुभएको छ । आगामी ७ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधिकारी, बेनी नगरपालिकाको १० वटै वडाबाट जनप्रतिधि र स्थानीय तथा नगरपालिकाका कर्मचारीसहित कुल ४० जनाको सहभागिता रहेको छ । तालिमको आईजीडीका कार्यकारी निर्देशक डा. रिजालसहित महेन्द्रप्रसाद लम्साल र कविता अधिकारीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

तालिमको उद्घाटनसत्र उपप्रमुख बरुवालको अध्यक्षता, न्यायिक समिति सदस्य रामप्रसाद सुवेदीको स्वागत र उजुरी प्रशासक कल्पना आचार्य शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । स्थानीयस्तरमा आउने विवाद समाधानलाई मेलमिलापको माध्यमबाट समाधान गर्नको लागि मेलमिलापकर्ता तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । तालिम अवधिभरमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, वार्ताका आधारभूत नियम, सञ्चार, सहजीकरण र सिप, अडान र हितमा आधारित अभ्यास, बहुसरोकारको विवाद तथा मेलमिलाप, सामाजिक न्याय, मानवअधिकार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला अधिकार, सहमतिपत्रको तयारी, मेलमिलाप प्रक्रियापश्चातको जिम्मेवारी र मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचारसंहिता, प्रतिबद्धता र सिकाई मूल्याङ्कन जस्ता विभिन्न विषयहरुमा सहजीकरण गरिने उजुरी प्रशासक शर्माले बताउनुभयो ।

Leave a Reply