धवलागिरी गाउँपालिका–६,मराङका राजु लामगाडेले फोटोसहितको मतदाता नामावली मंगला गाउँपालिकामा आएर दर्ता गरे । गाउँपालिकामा सञ्चालित अभियानको क्रममा पुग्न नसकेपछि उनले आफ्नै सवारीसाधनमा आएर दर्ता गरेपछि निर्वाचनमा आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । उनीजस्तै मंगला गाउँपालिकाको कार्यालयमा संकलन भइरहेको मतदाता नामावलीमा धवलागिरीबाट १० जना आएका थिए ।

विदेशबाट आएका, विगतमा विभिन्न कारणले आफ्नो नाम छुटेका विभिन्न माध्यमबाट मतदाता नामावली संकलन स्थलमा पुग्ने गरेका छन् । ‘विदेशबाट फर्किएकाहरु धमाधम आउन थाल्नुभएको छ,‘राजनीतिक दलको पनि चासो भएकाले सहज भएको छ’ मंगला गापाका सूचना अधिकारी राजेन्द्र आचार्यले भने । उनले छिमेकी गाउँपालिकाको अभियानमा छुटेकाहरु समेत धमाधम आउन थालेकाले भिडभाड देखिएको बताए ।

उनले गाउँपालिकाका कर्मचारी सहित आवश्यकता अनुसार सहयोग समेत गरिएको छ । यस अगाडी धवलागिरी गापाको केन्द्र मुनासम्म पुग्न नसकेका मतदाताले मालिका गापामा समेत आएर दर्ता गरेका थिए । निर्वाचन कार्यालयले सुरु गरेको अभियान अन्तरगत मंगला र रघुगंगा बाहेक अन्य गाउँपालिकामा अभियान सकिएको निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताए ।

उनले बेनी नगरपालिका भित्रकाले जिल्ला प्रशासन कार्यालय वा निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न सक्ने बताए । ‘छुटेकालाई अझै पनि अवसर छ,‘मतदानको अधिकारबाट बन्चित नहुनुहोला’ प्रमुख घिमिरेले भने । फोटोसहितको मतदाता नामावली संकलनलाई तीव्रता दिंदै पालिकास्तरमै दर्ता अभियानले उत्साह थपिएको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय अभियान अगाडी जिल्लामा सर्वपक्षिय भेलामा जिल्लाका सबै पालिकामा मंसिर १७ गतेबाट नै मतदाता नामावली संकलन सुरु गरेको थियो । आगामी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नयाँ मतदान नै निर्णायक हुने भएकाले राजनीतिक दलले समेत विभिन्न माध्यमबाट अभियान तथा निशुल्क यातायातको सुविधा समेत प्रदान गरेका छन् ।

 

Leave a Reply