म्याग्दीको बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बजारमा आउन सुरु भएको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाका किसानहरुले आफ्नो खेत तथा बारीमा लगाएको सुन्तला पाकेपछि बजार पठाउन थालिएको हो ।

बास्कुनाका किसानहरुले विगतमा धान, गहुँ, मकैलगायत खाद्यान्न बाली लगाउने खेत र बारीमा पछिल्लो केही वर्षदेखि यता व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । खेत तथा पाखो बारीलाई मासेर खाद्यान्न बालीभन्दा नगदेबालीतर्फ आकर्षित भएका किसानहरुले लगाएको सुन्तला पाकेपछि बजार पठाउन लागिएको बास्कुना कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ ।

सुन्तला पाक्न थालेपछि यसअघि नै व्यापारीहरु किसानको सुन्तला बगैंचामा पुगेर बोट नै खरिद गरेको किसानहरुले बताएका छन् । उच्च पहाडी क्षेत्र तथा हिमाली जिल्लामा लगाएको सुन्तला स्वादिलो तथा गुणस्तरीय हुने, बजार मूल्य सजिलै पाउने र यातायातको सुविधा पुगेपछि सुन्तलाको व्यापार गर्नेहरु सवारीसाधन लिएर सुन्तला खरिद गर्न किसानको बगैंचामा पुग्ने गरेका छन् । बास्कुना गाउँमा मात्रै ९० घरधुरीका करिब २ सयजना किसानहरु व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् ।

बास्कुनादेखि बराङ्जा क्षेत्रसम्म २० हजार सुन्तला लगाइएको छ । सुन्तलालाई बोटमै प्रतिकेजी ७० रुपैयाँका दरले बिक्री गर्ने गरिएको किसानहरुको भनाइ छ । गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादन राम्रो भए पनि विगत वर्षमा भन्दा यसपटक पनि सोचेजस्तो फल नलागेको किसानहरुले गुनासो गरेका छन् ।

बास्कुनाको सुन्तला खरिद गर्नका लागि पोखरा, धादिङ, चितवन, काठमाडौंबाट व्यापारीहरु जाने गरेका छन् । उनीहरुले किसानबाट खरिद गरेको सुन्तला नेपाली बजार हुँदै विदेशमा समेत बिक्री गर्ने गर्दछन् । बास्कुनाको सबै सुन्तला व्यापारीहरुले खरिद गरेकाले बजारमा जाने तयारीमा रहेको अगुवा किसान तिलक गुरुङले बताउनुभयो ।

गतवर्ष बास्कुना क्षेत्रमा उत्पादित सुन्तलामा चाईनीज फुड्रस फुडफ्लाई नामक औंसा किराको प्रकोप देखिएको थियो । यसको उपचार गरेपछि अहिले रोग तथा किराको प्रकोपमा कमी आएको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा रोग, किराको प्रकोप नियन्त्रण गरिएको थियो । बास्कुनाका अर्का किसान विष्णुकुमारी गुरुङले ५ रोपनीको जग्गामा सुन्तला खेती गरिएकोमा गतवर्ष एकलाख भन्दा बढीको बिक्री भएको हुँदा यसवर्ष उत्पादन पनि राम्रो भएकाले कारोबार समेत बढ्ने अनुभव सुनाउनुभयो ।

बास्कुनाका अधिकांश किसानहरुको आम्दानीको मुख्य स्रोत सुन्तला खेती बनेको छ । यहाँका साधारण किसानले पनि वर्षमा सुन्तला बिक्री गरेर एकलाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । बास्कुनाको व्यावसायिक सुन्तला खेतीमा लामो समय विदेश रही दुःख गरेर फर्किएका तथा विदेश जाने तयारी गरेका युवा किसानहरु लागेका छन् ।

Leave a Reply