म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङमा रहेको जनप्रिय माविको सुविधासम्पन्न १६ कोठे भवनको शिलन्यास गरिएको छ । गोर्खा वयलफेयर संस्थाको आर्थिक तथा विद्यालयको जनश्रमदानमा छ्यारछ्यारेमा निर्माणधिन भवनको शुक्रबार एक समारोहका बिच गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले शिलन्यास गर्नुभएको हो ।

शिलन्यास समारोहमा गाउँपालिका अध्यक्ष रोकाले पश्चिम क्षेत्रमै शैक्षिक गन्तब्य दरबाङलाई बनाउन भविस्यमा क्याम्पस तहको शिक्षाका लागि समेत आवश्यक संरचनामा गाउँपालिकाले सहजीकरण गर्ने बताउनुभयो । छ्यारछ्यारेमा विद्यालयको भवन सहित खेलमैदानका लागि समेत आवश्यक जग्गा ब्यवस्थापनमा गाउँपालिकाले सघाउने अध्यक्ष रोकाको भनाई छ ।

सोही अवसरमा उपाध्यक्ष खरमायाँ बिटालुले भौतिक संरचना सहित शैक्षिक गुणस्तरका सूचकमा समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । शिलन्यास कार्यक्रममा वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, गाउँपालिका शिक्षा अधिकृत अशोक रिजाल, गोर्खा वयलफेयर संस्थाका सुपरभाईजर डम्बर थापा,दरबाङका सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

दुई करोड ८६ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न गोर्खा वयलफेयरले ९० प्रतिशत सहयोग र विद्यालयले बाँकी आन्तरिक तथा श्रमदानबाट गर्ने गरी सम्झौतामा भवनको काम भइरहेको विद्यालयका प्रअ दिवाकर सुबेदीले जानकारी दिनुभयो । सोही स्थानमा ८ कोठे भवनको निर्माण सम्पन्न भइसकेको अवस्थामा नयाँ भवनमा आधारभुत तहदेखि कक्षा १२ सम्मको नियमित पठनपाठन हुने छ ।

विद्यालयको भवनका लागि मालिका–५,देविस्थानका क्या.जितबहादुर घर्तीले सहजीकरण गर्नुभएको थियो । भवन शिलन्यास कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष गौमति चापागाईले गर्नुभएको थियो । शिलन्यास कार्यक्रममा गोर्खा वयलफेयर संस्था समुदायस्तरबाटै धन्यवाद दिदैं तोकिएको समयमा मापदण्ड अनुसारको संरचना बनाउन प्रतिबद्धता समेत जनाइएको थियो ।

Leave a Reply