म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले विभिन्न २९ योजनाका लागि डेढ करोडभन्दा बढी विनियोजन गरेको छ। गाउँसभाले वडा नम्बर ५ झिँको वडा कार्यालयको जग्गा प्राप्तीको रकम भुक्तानीका लागि ३० लाख र गाउँपालिकाको सभाहलका लागि २५ लाख बजेट विनियोजन गरेको छ भने झिँ–पाखापानी सडक कालोपत्रेका लागि प्रदेश सरकारको योजनामा साझेदारीका लागि २५ लाख बजेट दिइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

त्यसैगरि दुई वटा योजाको रु ५० लाख १० हजार रकमलाई संशोधन गरि २२ वटा योजनामा रकम विनियोजन गरिएको छ । अन्य सार्वजनिक निर्माणतर्फ ३ वटा योजनामा रु ५ लाख बजेट विनियोजन भएको छ । यस आर्थिक बर्षका लागि गाउँपालिकामा जम्मा बिनियोजन भएको रु ४५ करोड ९ लाख ९ हजार मध्ये चालुतर्फ ३० करोड ३३ लाख ८४ हजार ३ सय र पुँजीगततर्फ १४ करोड ७५ लाख २४ हजार ७ सय रहेको छ ।

हालसम्म चालुतर्फ ६ करोड ८० लाख ५८ हजार र पुँजीगत तर्फ रु १ करोड १९ लाख ३६ हजार खर्च भएको जनाईएको छ। गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित समेत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो ।

संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ । अध्यक्ष भण्डारीले चालु आर्थिक बर्षका लागि विनियोजन भएका योजनाको प्रभाबकारी कार्यान्वयमा सम्बन्धित उपभोक्ता र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले संघीय संरचनाको पहिलो कार्यकाल भएकाले अनेकौ चुनौति र समस्याहरुका कारण जनताको अपेक्षा बमोजिम विकास निर्माण हुन नसकेपनि सन्तोषजनक रुपमा गाउँपालिकामा विकासका पूर्वाधारहरु बनेकोमा जोड दिनुभयो ।

त्यसैगरि वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जीवनकुमार मल्ल, ४ का अध्यक्ष रुकबहादुर गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का वडा सदस्य लक्ष्मण पुन र ८ का वडा सदस्य प्रीति गर्वुजाले गाउँपालिका मार्फत कार्यान्वयन भएका विकास निर्माण योजनाहरुलाई पारदर्शी र प्रभाबकारी बनाउन वडा मार्फत आबश्यक पहल गरिरहेकोमा जोड दिनुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष तिलिजाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply