म्याग्दीमा सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । यसैक्रममा शुक्रबार सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहयोग र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

समुदायस्तरमा हुने सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । समुदायस्तरमा हुने बालविवाह, बहुविवाह, बोक्सी प्रथा, मद्यपान जस्ता हानिकारक अभ्यास तथा दाइँजो प्रथाविरुद्ध कार्यक्रम गरिएको जनाइएको छ । समुदायमा विगतदेखि हुँदै आएका गलत अभ्यासलाई निरुत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्ने तथा सहजीकरण गर्ने वक्ताहरुले २१औं शताब्दीको युगमा आएर अझै पनि समुदायमा हानिकारक अभ्यास कायमै रहेकाले यसलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले समुदायस्तरमा पुगेर विभिन्न रचनात्मक र चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । हानिकारक अभ्यासका विरुद्ध आगामी दिनमा पनि निरन्तर रुपमा स्थानीय तह, सहकारी, संघसंस्थालगायत सरोकारवाला निकायसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सामाजिक विकास कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले समाजमा हुने चोरी र अपराधको श्रृङ्खलालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले समाजमा हुने सानातिना अपराधका घटनालाई समयमै रोक्न नसकेमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताउँदै सबै मिलेर सामाजिक कुरितीको अन्त्य गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक कार्की (बिखर्ची)ले अपराधजन्य घटनाहरुको न्युनीकरण गर्नका लागि विभिन्न ऐन, कानुनहरु बनेको भए पनि पछिल्लो समय अपराधका घटनाहरु झन्झन् बढेर गएको बताउनुभयो । उहाँले समुदायमा निरन्तर भैरहने चोरी, डकैती, अपराध जस्ता घटनाहरुको रोकथाम गर्न चेतनाको दियो बाल्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममाथि जिल्ला न्यायाधीश पौडेलसहित म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूपदार्थ दुव्र्यसनीको असर तथा नियन्त्रणका उपाय, कानुनी उपचार, हानिकारक अभ्यास एवं सकारात्मक सोचलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

सामाजिक विकास कार्यालय प्रमुख थापाले अभियानको उद्देश्यमाथि प्रकाश पार्नुका साथै स्वागत गरेको कार्यक्रम गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र कोषाध्यक्ष निलकण्ठ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहकारी, स्थानीय र गलेश्वर आदर्श बोर्डिङ स्कुलका विद्यार्थीसहित कुल १ सय ५५ जनाले सहभागिता जनाएका थिए ।

Leave a Reply