पूर्व र उत्तरतर्फ हेर्दा दन्त्य लहर जस्तै देखिने हिमाल । तलतिर हेर्यो भने बेसीका फाँट र म्याग्दी खोलाको खोंच । पुस, माघमा सेताम्य हिउँ पर्छ भने चैत, वैशाखमा ढकमक्क लालीगुराँस फुल्छ । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरतालाई धित मरुञ्जेल हेर्न पाइने ठाउँ मध्येको एक हो, म्याग्दीको ताकम कोत।

ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । एकाबिहानैको सुर्योदयले मनमा झन् आनन्द थपिदिन्छ ।

हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकनका साथै म्याग्दीको पश्चिमी भू–भागहरु देखिने ताकम कोतको धेरै बयान गर्नुपर्दैन । हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटक खुब लोभिन्छन् ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमको ताकम–कोत पछिल्लो समय पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल बन्दै जान थालेको छ । ताकम र धारापानी गाउँको सिरानमा ताकम कोत पर्दछ । ताकम कोतमा पछिल्लोपटक खासगरी स्वदेशी पर्यटकहरु पुग्न थालेका छन् ।

 

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण र रोजाइमा परेको ताकम कोतमा विभिन्न कार्यक्रम लिएर जानेहरु समेत पुग्ने गरेका छन् । यहाँ पुगेपछि म्याग्दीका लेकाली बस्तीको सौन्दर्य, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन तथा स्थानीयवासीको कला, संस्कृति र भेषभुषाको समेत अध्ययन गर्न पाइन्छ ।ताकममा रहेको ताकम कोतमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । ताकम कोत परिसरसम्मै पुग्ने सडक तथा पदमार्गको सहज पहुँच विस्तार भएपछि पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको हो । समुद्री सतहदेखि २ हजार पाँचसय मिटरको उचाइमा अवस्थित ताकम कोत मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ ।नेपालमा चलेको बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन थापा राजाहरुले ताकम कोतबाट राज्य सञ्चालन गरेका थिए । पछि मल्ल राजाहरुले त्यहाँ आक्रमण गरेर जितेपछि ताकम राज्यलाई ऐतिहासिक पर्वत राज्यमा गाभिएको थियो ।

ताकम कोतमा पुरातात्त्विक महत्त्वका विभिन्न हातहतियारहरु सुरक्षित रहेका छन् । धार्मिक दृष्टिकोणका हिसाबले पनि ताकम कोत महत्त्वपूर्ण मानिन्छ ।

ताकम कोत मन्दिरभित्र जगन्नाथ, अन्नपूर्ण, भगवती, नरसिंहका मूर्ति तथा छेला, खुडा, तरबारलगायत हातहतियारहरु रहेको कोत मन्दिरले जनाएको छ । ताकम कोत परिसरबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमाल, दशौँ अग्लो चुचुरो अन्नपूर्ण तथा माछापुच्छ्रे, निलगिरि, मानापाथी, गुर्जा, चुरेनलगायत दर्जनौँ हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यसैगरी यहाँबाट ताकमसहित मुनाको मालिका, मुदीको बगरा, मालिका गाउँपालिकाको देवीस्थान, देवीस्थानको मामा–भान्जा काटाकाट गरेको धुरीलगायत ग्रामीण बस्तीको सुन्दरतासहित डाँडाकाँडाहरु देखिन्छन् ।ऐतिहासिक ताकम कोत क्षेत्रको भ्रमण गर्न पाउँदा ताकम कोत आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक रहेको त्यहाँ पुग्नुभएका स्वदेशी पर्यटक युक्तप्रसाद शर्माले अनुभव सुनाउनुभयो । धवलागिरि गाउँपालिकामा कार्यक्रम लिएर जाने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरु पनि अहिले ताकम कोत परिसरको भ्रमण गर्न पुग्ने गरेका छन् । पछिल्लोपटक ताकम कोत परिसरमा स्वदेशीसँगै विदेशी पर्यटकहरुको पनि चहलपहल बढ्दै गएको स्थानीयवासी बताउँछन् ।ताकम कोतमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएपछि मन्दिर, सत्तल, पदमार्गलगायत संरचनाहरु निर्माण गरिएको छ । ताकम घनाबस्ती विस्तार कार्यक्रममार्फत पदमार्ग निर्माण तथा घनाबस्ती कार्यक्रम र ताकम कोत मन्दिरको कोषबाट मन्दिरसम्म सडकको पहुँच विस्तार भएको छ । अहिले पुरातत्त्व विभागको आर्थिक सहयोगमा ताकम कोतमा धार्मिक पर्यटकलाई लक्षित गरेर मन्दिर निर्माण थालिएको छ । ताकम कोतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक पहल थालिएको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply