कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिनुभयो । “प्राविधिक परीक्षणका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।”पछिल्लो समय यहाँ साहसिक खेलको गन्तव्य बन्दै गएको छ ।

जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । निर्माण कम्पनीका इञ्जीनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।

सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । जीपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो ।यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार जीपलाइन अवलोकन गर्नुभएको छ । – रासस

Leave a Reply