लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट ट्रुपले क्विक रेस्क्यु फोर्सको सहकार्यमा जलजला ४ लामाखेत वस्तीका गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

शनिबार लामाखेत स्थित सुकुम्बासी वस्तीमा लायन्स क्लबले कार्यक्रमको आयोजना गरी बालबालिका,महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब एकसय सेट न्यानो कपडा पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदार शर्माले क्विक रेस्क्यु फोर्सलाई हस्तान्तरण गर्नुभएको हो ।

गरिब तथा विपन्न परिवारका बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन क्लबले न्यानो कपडा वितरण अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले बताउनुभयो । कोभिडका समयमा उद्धार तथा उपचार अभियानमा सक्रिय भएर खटिएको क्विक रेस्क्यु फोर्स उक्त न्यानो कपडाहरु गरिब तथा विपन्न परिवारलाई समान रुपमा वितरण गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चिसोका कारण प्रभावित बनेका गरिब, विपन्न र दलित समुदायका परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको क्लबका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो । चिसोबाट गरिब तथा विपन्न परिवारलाई बचाउन क्लबले चिसोबाट आफू पनि जोगियौं अरुलाई पनि जोगाऔँ, हुनेले दिऊ नहुनेले लैजाऊ भन्ने अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष पौडेलले बताउनुभयो ।

अभियानका क्रममा सहयोग दाताहरुबाट पचास प्रतिशत नयाँ र पचास प्रतिशत सफा कपडा संकलन भएको उहाँले जानकारी दिनुभयो ।पर्वतका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दाहरुसँग पुराना र सफा कपडा संकलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको उहाँको भनाई थियो ।

क्लवले उपलब्ध गराएका स्वीटर, ज्याकेट, कुर्ता, सुरवाल, टोपी, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने कपडाहरु गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको क्विक रेस्क्यु फोर्सका संयोजक दिलिप बरुवालले बताउनुभयो । आगमी दिनमा पनि जलजलाका अन्य वस्तीहरुमा पुगेर न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जलजला ४ का अध्यक्ष भरत खत्रीले लामाखेतको सुकुम्बासी वस्तीका बालबालिका,महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेर क्लबले राम्रो काम गरेको बताउनुभयो । क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्काउट ट्रुपको संरक्षक जलन केसी सञ्चालन गर्नुभएको थियो भने नेकपा एमाले जलजला कमिटिका सचिव महेन्द्र रेग्मीले स्वागत गर्नुभएको थियो । न्यानो कपडा पाएपछि बालबालिका,महिला तथा ज्येष्ठ नागरिकहरु खुसि भएका छन् ।

Leave a Reply