म्याग्दीका पाँच स्थानीय तहमा २५ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको दर्ता शिविरमा २६ सय २ जना नयाँ मतदाताले नामावली दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत धवलागिरी २ सय ३२, रघुगंगा २ सय ८९, अन्नपूर्ण ४ सय ६७, मंगला ७ सय ७९ र मालिका गाउँपालिकामा ८ सय ३५ जनाले नाम दर्ता गराएका छन् ।‘दर्ताको विवरण मात्रै प्राप्त भएको छ, रुजु गर्न बाँकी छ’ निर्वाचन अधिकृत घिमिरेले बेनीअनलाइनलाई भने ।

उनले गाउँपालिकास्तरमा आयोजित मतदाता नामावली संकलनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायको सहयोगले समेत सहज भएको बताए। एउटा पालिकामा आयोजित दर्ता शिविरमा पुग्न नसकेकाले छिमेकी पालिकासम्म आएर दर्ता गरेकाले समेत रुजु गरेपछि मात्रै पालिकास्तरको बास्तविक मतदाता नामावली सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावली संकलनमा राजनीतिक दलका प्रतिनिधिले टोली नै खटाएका थिए । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, घरबाट दर्ता केन्द्रसम्म निशुल्क यातायात, खाजा र खानाको ब्यवस्था समेत मिलाएर दलीय प्रतिनिधिले मतदाता ल्याउने होडबाजी नै चलेको थियो ।

यता बेनी नगरपालिका भित्र र अन्य स्थानीय तहमा छुटेकाले निर्वाचनको मिति घोषणाको अघिल्लो दिनसम्म जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा पुगेर समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाइएको छ । नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय हुन्छ। म्याग्दीमा एक निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा नयाँ मतदाता र्नै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निर्णायक हुने अनुमान गरिएको छ।

Leave a Reply