म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको हो।

प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिनुभयो । सडक स्तरोन्नतीका लागि दैनिक सवारी चापले समस्या भएपछि बन्द गरेर तिब्र गतिमा विस्तार गर्नेमा चारवटै जिल्लाका प्रजिअ सहितको सरोकारवाला निकायको प्रतिनिधिले सहमति जनाएका थिए।

१३ किलोमिटर दुरिको सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल लगायत सरोकारवाला र सुरक्षा अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो। एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

२०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा एपेक्स–खड्का कृष्ण जेभीले ठेक्का लिएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले समेत सडक नियमित सञ्चालन गरी स्तरोन्नतीको काम गर्न नसकिने जनाएको थियो ।

हाल पिचसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो। वि.सं. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो।

Leave a Reply