२० बर्षपछि पहिलोपटक नेपाल महिला टोलीलाई अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगितामा उपाधी जिताउन सफल भएकी नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिलाको दोस्रो उपाधीको फाइनलमा समेत सतप्रतिशत नतिजा निकाल्ने तयारीमा छन् ।

हरेक अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी र काँस्य पदकसम्म पुगेर घर फर्किने गरेको नेपाली महिला टोलीले शाही कप्तान भएपछि सार्कस्तरीय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएको छ ।

बंगलादेशको ढाकाबाट यसअगाडी ट्रफी उचालेर नेपाल प्रवेश गरेको नेपाली महिला टोलीले १३ औं दक्षिण एशिलायी खेलकुदमा भारतसँग कडा प्रतिस्पर्धाका बिचमा उपविजेतामा चित्त बुझाउनुप¥यो । सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने नेपाली टोलीले अरुणाकै नेतृत्वमा सार्क खेलकुदमा फाइनलसम्मको यात्रा तय गर्न सफल भयो।

उपविजेता भएपनि सार्क खेलकुदमा नेपालको दमदार उपस्थितीले महिला भलिबलको सर्वत्र चर्चा भयो । महिला भलिबलको नेतृत्व गरेपछि अरुणाको मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै ब्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढे । साधारण स्वभावकी शाहीमा कहिल्यै पनि कप्तानको धमण्डको छायाँ देखिएन् ।

देश भित्र वा बाहिर हुने हरेक खेलमा खेलाडीको साथले सफलताको शिखर चुम्दै गरेकी शाहीले एभीसी सेन्ट्रल जोन भलिबल डिफेन्डिङ च्याम्पियनलाई कायम राख्ने बताईन् । बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपको पहिलो खेलमा श्रीलंकामाथि नाटकीय जितसहित सुखद सुरुआत गरेको थियो । श्रीलंकासँगको सुरुआती दुई सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पारेको थियो ।

त्यस यता भएका खेलमा माल्दिभ्स र उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गदैं फाइनलमा प्रवेश गरेको छ । नेपालको हरेक खेलबाट यसपटक पनि एसियन सेन्ट्रल जोनको ट्रफी सहित नेपाल आउने बलियो आधार भएको खेल विश्लेषकहरुको भनाई छ । प्रतियोगितामा उपाधीकै दावेदार मानिएकालाई नेपाली टोलीले सोझो सेटमा पराजित गर्नुले टोलीको खेलमा ब्यापक सुधार देखिएको छ ।

महिला भलिबलको टिम क्याप्टेन भएपछि अन्तराष्ट्रियस्तरको उपाधीमा कब्जा जमाउने शाहीको चाहना दोस्रोपटक बंगलादेशमै पुरा हुदैछ । नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणको उपाधी सहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी समेत जितेकी शाही म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ की हुन् । उनले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेपछि महिला भलिबलको सफल कप्तानको रुपमा समेत उनलाई हेर्ने गरिन्छ ।

उनले फुर्सदमा गृह जिल्ला म्याग्दी र गण्डकी प्रदेशको नेतृत्व गरी राष्ट्रियस्तरको भलिबलमा समेत नतिजा दिलाउन सघाउने गरेकी छन् । खेलमा लगनशील र निरन्तर लागेकै कारण यो सफलताको उचाईमा पुगेपनि शाही प्रचारप्रसार रुचाउँदैनिन्। भलिबल खेलमा शाहीको संघर्ष र चुनौतीलाई सामाना गर्न सक्ने क्षमताले नै अहिले लोभलाग्दो नतिजा आउन सफल भएको छ ।

Leave a Reply