‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित सोमबार गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा ३१औं वार्षिकोत्सव तथा २०औं क्याम्पस सभाको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

हाँजिरीजवाफ प्रतियोगितामा आयोजक म्याग्दी बहुमुखी क्याम्पससहित पृथ्वीनारायण क्याम्पस पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखरा, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र न्यु वेष्ट प्वाइन्ट कलेज बेनी म्याग्दीले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट जनप्रिय बहुमुखी क्याम्पस प्रथम, धौलागिरि बहुमुखी क्याम्पस द्वितीय र म्याग्दी बहुमुखी क्याम्पस तृतीय भएका छन् ।

विजेता क्याम्पसलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ भने सहभागी क्याम्पसलाई पनि प्रमाणपत्रले पुरस्कृत गरिएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । समसामयिक विषयमा आधारित रहेर विद्यार्थीबीच हाँजिरीजवाफ गराइएको प्रतियोगिताको म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकहरु नारायण पौडेल, नारायणप्रसाद सुवेदी र विष्णुप्रसाद आचार्यले सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटनसत्र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता तथा स्वागत, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्य र सहायक क्याम्पस प्रमुख सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ ।

कार्यक्रमअनुसार म्याराथुन दौड, हाईजम्प, लङजम्प, बास्केटबल, टेबलटेनिस, भलिबल प्रतियोगिता लगायतका खेलकुदजन्य प्रतियोगिताहरु रहेका छन् । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि एमबिएस तहसम्म अध्ययन तथा अध्यापन हुँदै आइरहेको छ । आउँदो पुस १८ गते हुने क्याम्पसको ११औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

Leave a Reply