म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बहुउद्देश्यीय खेलमैदानमा स्थापना भएको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको भवन व्यावसायिक पसलमा रुपान्तरण भएको छ । ग्रामीण भेगको कृषि उत्पादनलाई बजारीकरण र उपभोक्तालाई सहुलियतदरमा बिक्री गर्ने उद्देश्य रहेपनि हाटबजारलाई प्रभावकारी रुपमा सञ्चालन नगरी हार्डवयर पसल र खाजाघर सञ्चालनका लागि भाडामा लगाइएको हो ।

यसअघि २०६५ सालदेखि चार चरणमा गरेर हाटबजार सञ्चालन गर्नका लागि भवन र टहरा बनाउन प्राविधिक सहयोगका साथै लगानी गरिएको थियो । पछिल्लोपटक २०७० सालदेखि तत्कालीन जिल्ला कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा प्रत्येक शनिबार बेनीमा हाटबजार सुरू गरिएको थियो । सुरुवातको केही वर्ष हाटबजार चलेको भए पनि पछिल्लो समयमा हाटबजार लाग्न छाड्यो । बजारभित्र रहेका कृषिजन्य बस्तुका बिचौलिया र कृषकले समेत हाटबजारलाई ध्यान नदिएपछि अलपत्र परेको थियो ।

शनिबारको दिनमा लाग्ने हाटबजार सरोकारवाला निकायको वेवास्ता र बिचौलियाको कारणले सुक्दै गएपछि सरकारी लगानीमा बनेका भवन र टहरा भैंसी बाँध्ने गोठमा परिणत भएका थिए । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, तातोपानी, अर्थुङे, गलेश्वरसहित छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, खोलाखेत र धाईरिङका किसानले उत्पादन गरेका कृषि उपजलाई बजार पु¥याउन हाटबजार सञ्चालन गरिएको थियो ।

सुरू, सुरूमा ग्रामीण भेगका किसानले सोझै आफ्नो उत्पादन हाट बजारमा ल्याउने गरेका थिए । हाटबजार सुरू हुँदाको केही समय सदरमुकाम बेनीको बहुउद्देश्यीय खेलमैदानमा निकै भीडभाड हुने गरेको थियो ।

तर पछिल्लो तीन–चार वर्षसम्म पनि हाटबजार नचलेपछि वेवारिसे अवस्थामा पुगेको भवनलाई अहिले नगरपालिकाले मर्मतसम्भार गरी भाडामा दिएको जनाएको छ । भवनलाई लक्षित गरेर खानेपानी तथा विद्युत जडान, ग्राभेलिङ गर्ने, सटर हाल्ने, खेलमैदानको डिलमा पर्खाल लगाउनुका साथै मर्मतसम्भार गरिएको छ ।

खाली भवनलाई प्रति सटर मासिक आठहजार रुपैयाँ तिर्नेगरी भाडामा लगाइएको बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार कृषि उपज सङ्कलन तथा बिक्री वितरणका लागि तीनवटा सटर खाली राखिएको छ । कृषक समूहले निर्णय गरेर माग गरेको खण्डमा गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण गर्न निःशुल्क रुपमा भवनको कोठा उपलब्ध गराइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हाट बजारको भवन निर्माणमा यसअघि ३० लाख रुपैयाँ लगानी भएकोमा तत्कालीन कृषि विकास कार्यालयले मात्रै १९ लाख, जिविसले एकलाख ५० हजार, डीसीआरडीसी, डिमेगा, सहमति र प्लान नेपालले दुई–दुई लाखका दरले लगानी गरेका थिए।

यसैबीच जिल्ला प्रहरी कार्यालयबाट बग्ने ढल तथा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा बहुउद्देश्यीय खेलमैदानमा समस्या हुने गरेको छ । त्यस्तै कृषि उत्पादन सङ्कलन तथा बिक्री वितरण गर्नका लागि भनेर बनाएको कृषि उपज सङ्कलन केन्द्र तथा हाट बजारको भवनलाई व्यावसायिक भाडामा लगाएको किसानहरुले गुनासो गरेका छन् ।

किसानले उत्पादन गरेको कृषि उपज सङ्कलन केन्द्रलाई पुनः सञ्चालन गर्नुपर्ने बताउँदै आफूहरुले भवन माग्दा बेनी नगरपालिकाले नदिएको बास्कुनाका किसान तिलक गुरुङले गुनासो गर्नुभयो । ‘नगरपालिका नै ब्यापारी जस्तो भएको छ,‘कृषकको हाटबजारमा मनपरी गरेको छ’ गुरूङले भन्नुभयो । नगरभित्रका कृषि सहकारी सहित उद्यमीहरुले समेत बसपार्क सञ्चालनमा आएपछि हाटबजारको सम्भावना रहेकाले चासो देखाएका थिए ।

Leave a Reply