म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड स्तरोन्नतिका लागि मंगलबार देखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सडकखण्डमा सवारीसाधन अवातजावत र स्तरोन्नतिको काम सँगै लैजान समस्या भएपछि अर्को सूचना जारी नहुदाँसम्मका लागि बन्द गरिएको धवलागिरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो ।दरबाङ फेदी,बादिका उकालो हुदै धारापानी खण्डमा सवारीसाधन आवतजावत पूर्णरुपमा रोकेर काम गर्ने आवश्यक सहजीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त सडकखण्डबाट आवतजावत गर्ने सवारीसाधनलाई बैकल्पिक दरबाङ, भारर्वाङ, बगर, ताकम हुदै आवतजावत गर्न अनुरोध गरिएको छ। बैकल्पिक सडकबाट सानाठूला सवारीसाधन सहज आवतजावत गर्न मिल्ने भएकाले आवश्यक परेको ठाउँमा मर्मत समेत गरिनेछ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडक स्तरोन्नतिका धुलीखेल–ब्राइट–कुवर जेभीसंग १४ करोड ३८ लाख ६७ हजार १७६ रुपैया ८८ पैसामा ठेक्का सम्झौता गरेको थियो ।

ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्यावीन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान समेत छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुल देखि दङखोला बादीकाको उकालो हुदै धारापानी गाउसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो ।

स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकीलो बनाइने कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । करिब डेढ दशकअघि ट्याक खुलेको दरवाङ–धारापानी सडक जोखिमयुक्त र डरलाग्दो छ । यो सडक स्तरोन्नति भएमा धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दाका साथै ढोरपाटन जाने आउने पर्यटकलाई समेत सुबिधा पुग्ने पुग्ने भएकाले धौलागिरी बासी उत्साहित समेत छन् ।

Leave a Reply