कोरोना भाइरसको खोप लगाउन पाएपछि म्याग्दीका स्कुले विद्यार्थीमा उत्साह छाएको छ। कोभिड–१९ को पहिलो र दोस्रो लहरको सास्ती भोगेका विद्यार्थीले विद्यालयमै खोप दिन थालेपछि खुशी भएका हुन् । स्वास्थ्य कार्याल म्याग्दीले १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई मोडर्ना खोप लगाउन थालेपछि विद्यालयमा विद्यार्थीको घुँइचो लागेको छ ।

अभिभावसँगै विद्यालयमा पुगेका विद्यार्थीले कोरोनाबाट जोगिन अन्तिम विकल्प नै खोप भएकाले खोप पाएपछि ढुक्क भएको बताएका छन्।‘कोरोना सर्ने त्रासमा घरमै बसेको याद आउँछ,‘खोपका बारेमा धेरै सुनिएको थियो, आज लगाउने अवसर मिल्यो’ बेनी सामुदायिक विद्यालयका एक विद्यार्थीले भने। विद्यालयमा आयोजित खोप कार्यक्रममा अभिभावकले समेत चासो देखाएको बेनी सामुदायिकका प्रअ दिपक श्रेष्ठले बताए।

‘विद्यार्थी अभिभावकसँगै आउनुभएको थिया, खोपका बारेमा जानकारी पाएपछि उत्साहित हुनभयो’ प्रअ श्रेष्ठले भने । उनले कोरोना खोप लगाएपनि विद्यार्थीलाई भिडभाडमा आवतजावत, जनस्वास्थ्यका मापदण्डको पालना लगायतमा कोरोनाबाट जोगिने उपायमा ध्यान दिन अनुरोध गरिएको बताए ।

जिल्लाभर पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रम्ुख एकनारायण लम्सालले बताए। ‘विद्यार्थी धेरै उत्साहित देखिएका छन्,‘कोरोनाबाट जोगिन खोप आवश्यक पर्छ सन्देशले पनि काम गरेको छ’ प्रमुख लम्सालले भने ।

उनले खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभावहरू खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्ने भएपनि आत्तिनु नपर्ने बताए । खोप अभियानमा विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।

अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क सङ्कलन गरेका थिए । स्वास्थ्य कार्यालयका अनुसार बेनी नगरपालिकाका ५ हजार ५३२, मालिकाका २ हजार २८, धवलागिरिका १ हजार ४६५, मङ्गलाका १ हजार ४४५, रघुगङ्गाका १ हजार ११४ र अन्नपूर्णका १ हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । खोप लगाउनका लागि ८६ खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाइल भ्याक्सिन आएको छ ।

धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९ देखि १४ र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पुस ११ देखि १४ गतेसम्म खोप लगाउने छ । म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोसेल र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सन समेतका खोप समावेश छन् । जिल्लाभर लक्षित ७२ हजार ९७३ जनसंख्या मध्ये २३ हजार ३९६ अर्थात् ३२ प्रतिशतले अझै कोरोनाविरुद्धको खोपबाट बन्चित छन् ।

Leave a Reply