निर्वाचन आयोगले स्थानीय तह निर्वाचन मितिको प्रस्तावलाई सरकारले मिति घोषणा नगरे पनि म्याग्दीका मुख्य राजनैतिक दल मतदातालाई आफ्नो पकडमा राख्न चुनाव लक्षित संगठन विस्तार सहितको अभियानमा सक्रिय भएका छन्। स्थानीय सहित एकबर्ष भित्र हुने प्रदेश र संघीय निर्वाचलाई लक्षित गर्दै दलहरूले टोल–टोलमा संगठन विस्तार, विभिन्न पार्टीबाट प्रवेश, नयाँ मतदाताको पहिचान र साधारण सदस्य बढाउन अभियानमा जुटेका हुन् ।

तत्कालिन नेकपाको बिभाजनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला देखि वडातहसम्मका आफ्नो भ्रातृ संगठनको ब्यूँताउने, निस्कृय भएका नेता–कार्यकर्तालाई जिम्मेबारी दिएर पार्टीमै सक्रिय बनाउन तल्लिन छ भने नेपाली कांग्रेसले समेत पार्टी प्रवेश सहित टोल–टोलमा पुगेर संगठन विस्तार र अन्य राजनीतिक दलबाट हुने प्रवेश कार्यक्रममा देखिन्छन् ।

ठूला राजनीतिक दलले आधारभूमि अर्थात पकट मानिएका क्षेत्रहरूमा विभिन्न कार्यक्रम मार्फत एकअर्काको नेता–कार्यकर्ता खोसाखोजमा तल्लिन छन् । एकले अर्को पार्टीलाई कमजोर पार्न वडास्तरमा प्रवेश लगत्तै जिम्मेबारी समेत दिने गरेका छन् । करिब दुई बर्ष यता छिटफुट बाहेकका दलिय गतिविधि लिएर बस्तीमा नछिरेका दलहरू चुनावी प्रचार शैलीमै घरदैलो अभियानको कार्यतालिका बनाएपछि कार्यकर्तालाई समेत भ्याईनभ्याई छ ।

नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले सबै पालिकाले टोल–टोलमा पुगेर पार्टीगत गतिविधिमा सक्रिय रहेको बताए ।‘नियमित गतिविधिसँगै संगठन विस्तार प्राथमिकतामा छ,‘तल्लोतहसम्म कार्यक्रम भइरहेको छ’ सचिब सुबेदीले भने। एमालेका नेताहरू जिल्ला अधिवेशनमा ब्यस्त छन् । जिल्ला अधिवेशनसँगै पालिकास्तरमा हुने भेटघाट तथा संगठनका कार्यक्रमहरूमा समेत नेताहरू परिचालन गरिरहेको नेकपा एमालेले जनाएको छ ।

नेपाली कांग्रेसले जिल्ला अधिवेशन र महाधिवेशन सकिएपछि सम्पूर्ण ध्यान संगठन विस्तारमा केन्द्रित गरेको देखिन्छ । बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहमा टोल समिति गठन, अन्य दलबाट प्रवेश कार्यक्रम गरिरहेको छ । पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ दोस्रो कार्यकालका लागि निर्विरोध सभापतिमा चयन भएपछि पदाधिकारीको कार्य विभाजन समेत गरी वडातहसम्म प्रनिनिधि खटाएका छन् ।

‘सबै नेताहरुलाई आवश्यक जिम्मेबारी दिएर परिचालन गरिएको छ,‘साधारण सदस्य बढाउने अभियानमा लागेका छौ’ पार्टी सचिव भरतबहादुर रकालले भने । उनले संगठन विस्तार अभियानमा देखिएको उत्साहले नयाँ सदस्य थपिएको बताए ।
जिल्लाको तेस्रो ठूलो दल माओवादी केन्द्रका जिल्ला संयोजकमा रेशम जुग्जालीले पूरानो शक्ती फर्काउने गरी संगठन विस्तार सहित अन्य दलबाट प्रवेश कार्यक्रममै ध्यान दिएका छन् ।

संयोजक जुग्जालीले बेनी नगर सहित सबै पालिकाको नेतृत्व चयन, वडा कमिटी गठनले पार्टीमा उर्जा थपिएको बताए । ‘यूवापुस्तालाई पार्टीको नेतृत्वमा ल्याइरहेका छौ,‘माओवादी कमजोर छैन भन्ने पुष्टी संगठनमा देखिएको आर्कषणले समेत गरेको छ’ संयोजक जुग्जालीले भने। नेकपा बिभाजन भएपछि कमजोर भएको अनुमान गरिएपनि पार्टीका यूवा नेताहरूको लोभलाग्दो सक्रियता देखिएको छ ।

त्यस्तै नेकपा एमालेबाट विभाजन भएर गठित एकिकृत समाजबादीले समेत वडास्तरीय संगठन विस्तारमा जुटेको छ ।
समाजबादीका जिल्ला संयोजक कृष्णकुमार विश्वकर्माले चुनौतीका बिच संगठन विस्तारले गति लिएको बताए । ‘हामीले धेरै अभियानलाई गोप्य राखेका छौ,‘समय आएपछि पार्टीको संगठनको स्वरुप देखाउँछौ’ संयोजक बिकले भने ।

उनले पार्टी नियमअनुसार संगठित सदस्य बढाउने अभियानमा रहेकाले भात्रृ संगठनको गठन सहितका अन्य पार्टीगत गतिविधिमा नै रहेको बताए । कानुनी रुपमा निर्वाचन आयोगमा दर्ता नभएपनि बिप्लव नेतृत्वको नेकपाले समेत विभिन्न भात्रृ संगठनको विस्तार, आफ्नो प्रभाव क्षेत्रमा योजनाबद्ध तरिकाले कार्यकर्ता परिचालन गरेको छ ।

नेपाल सरकारले प्रतिबन्ध फुकुवा गरेपछि विप्लवका नेताहरूले ’संगठन र आन्दोलन दुवैलाई सँगै लैजाने घोषणा अन्तरगत अहिले सदस्य विस्तार अभियानलाई अघि बढाएको जनाएको छ ।

चुनावको मुखमा राजनीतिक गतिविधिमा केन्द्रित भएका दललाई आफ्नो दलबाट विजय भएका स्थानीय जनप्रतिनिधिका कारण समेत सहज भएको छ । ठूला दलले स्थानीय तहमा समेत नेतृत्व चयन गरी वडास्तरसम्म पार्टीको संयन्त्र तयार गरेकाले पनि अभियानले गति लिएको जानकारहरू बताउँछन् ।

नेकपा एमालेले आफ्नो पूरानो शक्तीलाई जोगाउन, नेपाली कांग्रेसले नयाँ सदस्य सहित संगठनलाई बलियो बनाउन र नेकपा माओवादी केन्द्रले पार्टी एकिकरणपछि अस्तब्यस्त भएको पूरानो संगठनलाई थप ब्यवस्थित बनाई एमाले र कांग्रेसलाई टक्कर दिन खोजेको देखिन्छ । ठूला दल अन्य दलबाट नेताकार्यकर्ताहरू सार्वजनिक तथा गोप्य रूपमा प्रवेश गराएको दावी समेत गरेका छन् ।

गाउँपालिकामा थपिए २५ बढि मतदाता
निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको दर्ता शिविरमा पाँच गाउँपालिकामा २६ सय २ जना नयाँ मतदाताले नामावली दर्ता गरेका छन् । निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत धवलागिरी २ सय ३२, रघुगंगा २ सय ८९, अन्नपूर्ण ४ सय ६७, मंगला ७ सय ७९ र मालिका गाउँपालिकामा ८ सय ३५ जनाले नाम दर्ता गराएका छन्।‘दर्ताको विवरण मात्रै प्राप्त भएको छ, रुजु गर्न बाँकी छ’ निर्वाचन अधिकृत घिमिरेले भने ।

यता बेनी नगरपालिका भित्र र अन्य स्थानीय तहमा छुटेकाले निर्वाचनको मिति घोषणाको अघिल्लो दिनसम्म जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा पुगेर समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाइएको छ । जिल्लामा नयाँ मतदाता र्नै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निर्णायक हुने अनुमान गरिएको छ। जिल्लाभर नयाँ मतदाता करिब ७ देखि १० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ ।

Leave a Reply