मंगलबार रातिदेखि लगातार परेको पानीका कारण म्याग्दीको जनजीवन प्रभावित भएको छ । बर्षासँगै चिसो ह्वात्तै बढेको छ भने उच्च हिमाली क्षेत्र आसपासमा बस्तीहरुमा यो सिजनकै पहिलो हिमपात भइरहेको छ । जाडोयामको सुरुवातसँगै भएको बर्षाले किसान उत्साहित भएका छन् ।

निरन्तर परेको बर्षासँगै मंगला गाउँपालिका वडा नं १ कुहुँ आसपासको बस्तीको माथिल्लो क्षेत्रमा हल्का हिमपात भइरहेको कुहुँका यूवा एकजित रोकाले जानकारी दिए । उनका अनुसार बर्षासँगै हुस्सुले जनजीवन प्रभावित भइरहेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुइनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा लगायतका हिमाली क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोभाँडो खुवाउनै समस्या भएको गूर्जाका स्थानीय यूवा सुमन छन्त्यालले बेनीअनलाइनलाई बताए । उनका अनुसार गूर्जामा हिमपात सुरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा हल्ला बर्षाले जनजीवन प्रभावित भएको छ । हिमपातपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने यातायात सेवा समेत प्रभावित भएको छ ।

Leave a Reply