जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा यो सिजनकै पहिलो हिमपात भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्रमा हिमपातसँगै चिसो ह्वात्तै बढेको छ । गूर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात भइरहेको स्थानीय यूवा सुमन छन्त्यालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘हिमपात भइरहेको छ,‘अब हिमपातपछि गाउँलेको दैनिकी निकै कष्टकर हुन्छ’ छन्त्यालले भन्नुभयो ।गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भइरहेको छ । गूर्जा हुदै गाउँपालिकाको केन्द्र मुनासम्म जाने समेत स्थानीयलाई समस्या हुने गरेको छ । गूर्जामा लगातार हिमपात भए करिव चार फिटसम्म हिउँ जम्ने गरेको छ ।

हिमपातले आवतजावतमा समस्या बनाएमा स्थानीयले हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाएर भएपनि दैनिक जिविका चलाउने गरेका छन्। पैदलमार्गमा हिउँ जमेपछि आवतजावतको क्रममा दुर्घटनाको सम्भावनालाई मध्यनजर गदैं विगतमा जस्तै वडास्तरबाट विभिन्न कार्यहरु गरिने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटोमा समेत हिमपात हुने भएकाले जाडोयाममा हिमपात भएपछि गूर्जामा अघोषित नाकाबन्दी जस्तै हुने गरेको छ । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन्।

गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गर्ने गरेका छन् । चिसो र हिमपातले मंसिर देखि फागुन महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित बनेका छन् । हिमपात भएपछि जमेको हिँउ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरुको लागि हिमपात लाभदायी हुने कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

#यो गत बर्षको फाइल तस्वीर हो ।

Leave a Reply