हिमाली जिल्ला म्याग्दीमा यो सिजनको पहिलो हिमपात भएपछि पर्यटकीयस्थलमा आन्तरिक पर्यटकहरु पुगेर रमाएका छन्। चिसो भए पनि हिउँ खेलेर मज्जा लिनका लागि भन्दै आन्तरिक पर्यटकहरु म्याग्दी जिल्लासहित छिमेकी पर्वत जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेका हुन् ।

विगत केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण बुधबार दिनभर जसो वर्षा र हिमपात भएको थियो । बुधबार वर्षासँगै हिउँ परेपछि बिहीबार बिहानैदेखि म्याग्दीको पर्यटकीय स्थलहरुमा हिउँ खेलेर रमाउन पर्यटकहरु पुगेका थिए । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको अधिकांश पर्यटकीय स्थलहरुमा हिउँ खेल्न भनेर आन्तरिक पर्यटकहरुको भीड लागेको थियो ।

बिहीबारको दिनभर जिल्लाको उच्च क्षेत्रमा हिउँ खेल्ने पर्यटकहरुको घुइँचो नै लागेको थियो । पर्यटकीय क्षेत्रमा खासगरी म्याग्दी सदरमुकाम बेनीलगायत बजार आसपास र ग्रामीण क्षेत्रबाट पनि पर्यटकहरु पुगेका थिए । बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीयस्थल टोड्केमा आन्तरिक पर्यटक धेरै आएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । प्रालिमार्फत टोड्केमा खान, बस्न र रमाउन आधुनिक सुविधासम्पन्न सामुदायिक लज निर्माण गरेपछि पछिल्लोपटक टोड्के पुग्ने पर्यटकहरु बढेका छन् ।

मध्य पुसको दिन पुसेपन्ध्र अनि तमु ल्होसार पर्वको अवसरमा बिहीबार नेपालका गुरुङ समुदायको मुख्य पर्व परेको थियो । यसै सन्दर्भमा नेपाल सरकारले सार्वजनिक विदा पनि दिएको हुँदा विदाको सदुपयोगका साथै साथीभाइहरु मिलेर हिउँ खेल्न र रमाउन पर्यटकीस्थल तथा पर्यटकीय क्षेत्रमा पर्यटकहरु पुगेका थिए । सार्वजनिक विदाको दिन परेको हुँदा आफूहरु हिउँ खेल्न र रमाउन टोड्केमा आएको आन्तरिक पर्यटक झरना बानियाँले बताउनुभयो । ‘हामीहरु बेनीबाट आठजना आएका थियौंं । पहिलोपटक टोड्केमा पुगेर हिउँ खेल्न पाउँदा धेरै खुसी लाग्यो’ उहाँले अनुभव सुनाउनुभयो ।

टोड्के हिल रिसोर्ट प्रालिका सञ्चालक मोहन खत्रीले टोड्के क्षेत्रमा बाक्लो हिउँ परेकाले पर्यटकहरु टोड्केमा आएको जानकारी दिनुभयो । उहाँले टोड्के क्षेत्रबाट हिमालका साथै मनोरम दृश्यावलोकन गर्न मिल्ने भएकाले पनि हिउँ पर्ने सिजनमा अधिकांश पर्यटकहरु आउने गरेको बताउनुभयो ।

टोड्के पुग्ने पर्यटकहरुलाई स्थानीय उत्पादनको स्वाद चखाउने गरिएको बताउँदै उहाँले पछिल्लोपटक नेपालको विभिन्न जिल्ला र विदेशी मुलुकहरुबाट समेत टोड्के क्षेत्रमा पर्यटकहरु आउने गरेको बताउनुभयो । टोड्केसम्म पुग्ने सडकको सहज पहुँच विस्तार भएसँगै पर्यटकहरु झिँ, कुहुँ र पुलाचौर भएर पुग्ने गरेका छन् ।

बुधबारको वर्षासँगै म्याग्दीको उच्च हिमाली क्षेत्रका साथै मध्य क्षेत्रसम्म पनि हिमपात भएको थियो । जिल्लाको धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको गाजने क्षेत्र र भकिम्लीमा हिउँ परेको थियो । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य पुनहिल, घारेपानी, महरेडाँडा, खोप्रालेक, टोड्के तथा गूर्जा, मुदी, मुनालगायत उच्च क्षेत्रमा बाक्लो हिमपातपछि डाँडाकाँडा सेताम्य बनेका थिए ।

Leave a Reply