नेपाली राष्ट्रिय महिला भलिबल टोलिकी कप्तान अरुणा शाहीले एभिसी एशियन सेन्ट्रल जोन भलिबलको उपाधी जित्न धेरै पीडा खेप्नु परेको बताएकी छिन् । बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा नेपाल भलिबल संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कप्तान अरुणाले धेरै पिडाहरु सहेर देशलाई दोस्रो पटक स्वर्ण पदक दिलाएको बताएकी हुन् ।कप्तान शाहीले उपाधि जित्न साथ सरकारले नगद पुरस्कार प्रदान गरेर हौसला बढाउनुका साथै सबै खेलाडीमा चुनौती थपिएको महसुस समेत भएको बताइन्।

उनले यसै प्रसङ्गमा सरकारले खेलाडीलाई पुरस्कार घोषणा गर्नुका साथै भलिबलको आफ्नै कभर्डहल निर्माणको कार्यलाई तिव्रता दिनुपर्ने धारणा राखिन् । उनले अहिले आफ्नै कभर्डहल नहुँदा तयारीका लागि समस्या झेल्नु्परेको गुनासो समेत पोखिन् ।

‘उपाधी जितेपछि सरकारले हामीलाई पुरस्कर दिने पनि घोषणा गरिसकेको छ, यसले हामिमा हौसलासङ्गै चुनौती थपिएको महसुस भएको छ तर पुरस्कार घोषणा गर्नु मात्रै ठूलो कुरा हैन, कप्तान अरुणाले भनिन्,‘राष्ट्रिय खेल भएपनी भलिबलको आफ्नै कभर्डहल नहुदा हामिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा धेरै समस्या भोग्दै आएका छौं । आफ्नै कभर्डहलमा तयारी गर्ने प्रतीक्षामा हामिले धेरै वर्ष बितायौ, तर अब कभर्डहल बन्ने काम धेरैपछि नधकेलियोस, यस्मा नेपाल सरकार लगायत सम्बन्धित निकायको ध्यान जाओस् ।’

यस्तै नेपाली भलिबलको थप विकासका लागि सम्बन्धित निकायले ग्रासरुटबाटै काम गर्नुपर्नेमा जोड दिइन् । ‘सेन्ट्रल जोन भलिबल खेल्न जानुअघि राम्रो तयारी गर्न नपाएको कुरा सम्झदै अरुणाले भनिन्,‘यस्तो अवस्थामा पनि हामीले पहिलेको साख जोगाउनुपर्ने दबाबलाई मनन गरि उपाधि जित्यौ । आफ्नै कभर्डहलमा राम्रो तयारी गर्न पाएको भए हाम्रो मनोबलसँगै प्रदर्शन पनि उच्च हुने थियो । त्यसैले सरकारको तर्फबाट आगामी दिनमा हाम्रो सेवा सुविधा व्यबस्थापन साथै तत्कालै कभर्डहल निर्माणमा पहल भइदियोस ।’ Source:merokhel.com

Leave a Reply