पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र संगम, म्याग्दीको आयोजनामा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो ।

‘बालविवाह न्युनीकरणमा हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित कम्प्युटर सामग्री हस्तान्तरण कार्यक्रममार्फत कम्प्युटर सहयोग गरिएको संगम म्याग्दीले जनाएको छ । उक्त कम्प्युटर संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र प्रशासन तथा वित्त अधिकृत सुमित्रा जिसी खत्रीले विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खत्री, प्रधानाध्यापक धुर्ब भण्डारी र लेखापाल माधव गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रति कम्प्युटर ६९ हजार रुपैयाँका दरले कुल चारलाख ८३ हजार रुपैयाँको ७ वटा कम्प्युटर सहयोग गरिएको छ । गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरि गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा सञ्चालित होप विद्यालय परियोजनामार्फत कम्प्युटर सहयोग गरिएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । उहाँले विद्यालयको क्षमता विकास तथा प्रविधिमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यसहित सूचना र प्रविधिको क्षेत्रमा विद्यार्थीको ज्ञान वृद्धि गर्न कम्प्युटर सहयोग गरिएको जानकारी दिनुभयो ।

पहिरोबाट क्षतिग्रस्त किसानी माविको विद्यालय भवन स्थानान्तरण गर्नका लागि परियोजनाको ७३ लाख रुपैयाँको आर्थिक सहयोगमा चारकोठे भवन निर्माणाधीन अवस्थामा रहेको छ । कम्प्युटर सहयोग हस्तान्तरण कार्यक्रमको विद्यालयका लेखापाल माधव गिरीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply