पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिउँमा परेर बेपत्ता भएका एक व्यक्तिको स्थानीयले खोजीकार्य सुरु गरेका छन् । बुधवार वर्षासँगै परेको बाक्लो हिमपातमा परेर बेपत्ता भएका गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्यालको आज बिहानदेखि खोजीकार्य सुरु गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।

बिहीवार नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत गुर्जा गाउँबाट लगेर गएको चार जनाको स्थानीयवासीको टोलीले खोजीकार्य थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । गुर्जाको सुकेलट्टे भन्ने ठाउँमा हिउँमा परेर ५० वर्षीय छन्त्याल बेपत्ता हुनुभएकाे स्थानीयले बताएका छन् ।

बाक्लो हिमपातकै कारण मानव बस्तीभन्दा धेरै टाढाको जङ्गलमा रहेको भेडीगोठमा बस्दै आएका गुर्जाका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका थिए । उनीहरुलाई सेनाको हेलिकप्टरबाट खाद्यान्न सामग्रीसहित स्थानीयवासीलाई समेत लगेर सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हिमपहिरोमा परेर छन्त्याल बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ भने झण्डै चार/पाँच फिटसम्म हिउँ जमेको बताइएको छ । वर्षा र हिमपातले गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा समेत बन्द भएको छ । छिमेकी वडा लुलाङबाट गुर्जा गाउँ पुग्नका लागि पूरै एकदिन पैदलयात्रा गर्नुपर्दछ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्धार तथा बेपत्ताको खोजी गर्न हेलिकप्टर बोलाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

हिमपात र वर्षाका कारण विद्युत् सेवा बन्द भएकाले टेलिफोन सम्पर्क हुन नसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । उहाँले बेपत्ता भएका नागरिकको वास्तविक अवस्था पत्ता लागेपछि हेलिकप्टर जाने जानकारी दिनुभयो ।

Leave a Reply