दुईदिन अघिको हिमपातले उच्च हिमाली भेगका बस्तीमा सास्ती थपिँदै गएको छ। अधिक हिमपातले गाउँमा हिमपहिरो निम्तिन थालेको छ भने उच्च हिमाली भेगमा गाउँले नै अलपत्र परेका छन्।

म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर एकजना गाउँले बेपत्ता भएका छन्। भेडिगोठमा रहेका सातजना गाउँले घर फर्किन सकेका छैनन्। अधिक हिउँका कारण गोठमा रोकिएका गाउँले अझै केहीदिन बस्तीसम्म फर्किन सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्।

गुर्जाको सुकेलोट्नेमा हिमपहिरोमा पुरिएर स्थानीय रामबहादुर छन्त्याल बेपत्ता भएको धवलागिरी–१ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए। अध्यक्ष छन्त्यालका अनुसार हिमपहिरोले अरु तीनजना गाउँले भेडिगोठमै अलपत्र परेका छन। भेडिगोठमा अलपत्र परेकालाई सघाउने गरि पुगेका अरु चारजना पनि गोठमै रोकिएका छन्।

सुरुमा अलपत्र परेका तीनजनाको उद्धारमा सेनाको हेलिकप्टर पुगेको भएपनि भेडाको रेखदेख गर्नुपर्ने भन्दै उनीहरु बस्ती झर्न मानेका थिएनन। त्यसपछि सेनाको हेलिकप्टरले अरु चारजना सहयोगीलाई हेलिकप्टरबाटै भेडिगोठमा पु¥याइदिएको अध्यक्ष छन्त्यालले बताए। हेलिकप्टरबाट गएका चार र पहिल्यै थुनिएका तीनजना गरि सातजना गाउँले अहिले भेडिगोठमै रोकिएको उनले बताए।

अध्यक्ष छन्त्यालका अनुसार स्थानीय जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक भेडिगोठमा अलपत्र परेका थिए। अधिक हिउँका कारण उनीहरु घर फर्किन सक्ने अवस्थामा थिएनन्। भेडिगोठमा करिब तीनसय भेडा भएकोले पनि गाउँलेहरु हेलिकप्टरमा फर्किन नमानेपछि थप चारजना सहयोगीलाई भेडिगोठमा पु¥याइदिएको उनले बताए।

‘भेडिगोठमा रहेका गाउँलेलाई रासन छाड्न जाँदा हिमपहिरोमा परेको आशंका छ,’ उनले भने, ‘के कसरी घटना भयो भन्ने अझै यकिन भएको छैन। भेडिगोठका आफन्तलाई आवश्यक रासन छाड्न जाने क्रममा यो घटना भएको सम्भावना छ।’ टेलिफोन सम्पर्क नभएकोले पनि वास्तविक जानकारी पाउन नसकेको उनले बताए।

गाउँलेहरु रोकिएको ठाउँ समुन्द्री सतहदेखि करिब ३५ सय मिटर उचाईमा पर्ने उनले बताए। गाउँबाट सामान्य अवस्थामा तीनघण्टामा भेडिगोठमा पुगिने भएपनि अहिले अधिक हिउँ परेकोले एकदिन पुरै हिडेर गोठमा पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाए।

गाउँलेले उच्च भेगमा गोठ बनाएर भेडा पाल्दै आएका थिए। ती भेडा हेरचाहका लागि गोठमा गोठाला बस्ने गरेका छन। केहीगरि गोठाला घर फर्किने हो भने भेडा अलपत्र पर्ने भएकोले पनि गाउँलेहरु गोठमै बस्न बाध्य भएको उनले बताए।

‘गोठमा अलपत्र परेका गोठालालाई हेलिकप्टरबाट तल झार्न त सकिन्थ्यो। तर, भेडाको रेखदेख गर्नुपर्ने भएकोले गाउँलेहरु गोठमै बसे,’ उनले भने, ‘सुरुमा रोकिएका तीनजनालाई सहयोग गर्न अरु चारजना गाउँले हेलिकप्टरबाट गोठसम्म पुगेका हुन्।’ गोठमा बसेकाहरु सुरक्षित रहेपनि हिमपात थपिएर पहिरो झरेमा जोखिम निम्तिन सक्ने उनले बताए। गुर्जा गाउँमा पुग्न अहिले पनि गाडी छाडेर एकदिन पैदल हिड्नुपर्छ।

म्याग्दीका डिएसपी श्यामकुमार राइका अनुसार हराएका एकजना गाउँले अझै भेटिएका छैनन। अधिक हिउँ परेको र पग्लिन समय लाग्ने भएकोले बेपत्ता व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था नभएको उनले बताए। हिउँ पग्लेपछि मात्र बेपत्ता भएका व्यक्तिको खोजी सुरु हुने उनले बताए। गोठमा पहिल्यै अलपत्र तीनजना र पछि हेलिकप्टरमा गएका चार सहित सातजना अहिले सुरक्षित रहको डिएसपी राइले बताए। ‘भेडाको रेखदेख गर्नुपर्ने भएकोले गोठका बासिन्दा तल झर्न मान्दैनन। गोठसम्म पैदल आउजाउ पनि सम्भव छैन,’ डिएसपी राइले भने, ‘गाउँलेलाई सुरक्षित रहन भनेका छौ।’

Leave a Reply