म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै वडा बालश्रममुक्त वडा घोषणा गरिएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत वडा नं २ भगवतीलाई घोषणा गरे संगै ८ वटै वडालाई घोषणा गरिएको हो ।

बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबाकिलाको पहिचान सहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएपछि वडा न १ बेगखोलाबाट अभियान सुरू गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

८ वटै वडामा १ सय ५० जना जोखिममा रहेका बालबालिकाको पहिचान गरी सहयोग गरिएको बताउनुभयो । जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान अनुसार सबै वडाहरुलाई बालश्रममुक्त घोषणा गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख सावित्रा सुवेदीको भनाई छ ।

बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको गाउँपालिकाले जनाएको छ ।विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित शैक्षिक अभिभावकत्व समेत ग्रहण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो । नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको अन्तिममा छनोटमा परेको थियो । नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको २० पालिकामा छनोटमा परेको थियो । यो अभियानसँगै रघुगंगा म्याग्दीको पहिलो बालश्रम मुक्त पालिका भएको छ ।

Leave a Reply