म्याग्दीको धवलागिरी गाउँपालिका-१, गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भेडा गोठालाको खोजी कार्य जारी छ । जिल्लाकै अति बिकट मानिने गूर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर गत बिहिबार दिउँसो हिउँपहिरोमा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको शब फेला नपरेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘खोजीकार्य जारी छ,‘हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’ अध्यक्ष छन्त्यालले भने ।

उनका अनुसार एक्कासी भिारी हिमपातपछि अर्को गोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरेपनि त्यहीं हिउमा पुरिएका थिए । सोमबार बिहान करिब ४० जनाको हाराहारीमा स्थानीय बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

दैनिक स्थानीयले समुह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेरका थिए । बेपत्ता छन्त्याल बाहेक अन्यको अवस्था सामान्य रहेको छ । भेडाको बथान सहित गोठमा रहेकाले अनुकुल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाई उद्धित गदैं वडा अध्यक्ष छन्त्यालले बताए ।

गोठमा रहेका सबै सेकेण्डको फरक ज्यान जोगाउन सफल भएका थिए । समुद्र सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गुर्जा जोड्ने पदमार्ग समेत हिउँले छोपेको छ । हाल मोबाइल र इन्टरनेटसेवा सुचारु भएकाले स्थानीयलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए । उनले हेलिकप्टरमार्फत फसेको स्थानमा पुगेर उद्धार समेत गरिएकाले अहिले बेपत्ताको खोजी बाहेक अन्य अवस्था समान्य रहेको बताए ।

Leave a Reply