एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चारजना खेलाडीलाई नगदसहित सम्मान गरिएको हो। महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो।

खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश पुगेका टोली नेता यामबहादुर गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो। युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले दोसल्ला ओढाई नगदसहित सम्मान गरेका हुन्।

थप बजेटबाट खेलाडी तथा खेलकुद पृष्ठभूमि भएकालाई स्वरोजगार कार्यक्रममार्फट आर्थिक सहयोग प्रदान गर्ने स्पष्ट पारे। ‘दुई महिना भईसक्यो बजेट मागेको, साढे दुई करोड रुपैयाँको बजेटबाट खेलाडीलाई स्वरोजगार कार्यक्रम मार्फत सहयोग प्रदान गर्ने छौं,’ मन्त्री गुरुङले भने।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको प्रदेशलाई संघीय मन्त्रालयबाट बजेट नै नदिँदा राष्ट्रिय खेलकुद प्रतियोगिता अपेक्षाकृत हुने नसकेको दावी गरे। मन्त्री गुरुङले ११ जिल्लालाई ५० लाख रुपैयाँ मैदान स्तरोन्नति गरे भनेर पैसा पठाएको भन्दै ५० लाख रुपैयाँले कुन जिल्लाको खेलमैदान स्तरोन्नति गर्ने भन्दै प्रश्न गरे। उनले बजेटकै अभावमा तीन महिनामा तीन सचिव फेरिएको समेत सम्मान समारोहमै बताए। मन्त्रालयसँग बजेट नहँुदा आवश्यता अनुसार खेलकुद प्रतियोगिता सञ्चालन गर्न नसकिएको प्रष्ट पारे।

सम्मान ग्रहणपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीले नियमित प्रतियोगिताले खेलाडी उत्पादन भएपनि दीर्घकालिन रुपमा खेलाडीलाई संरक्षण गर्ने तर्फ स्थानीय तह, प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिईन्। ‘खेलाडी उत्पादन हुन्छन् । तर खेलाडीलाई संरक्षण गर्न सकिएको छैन्,’ उनले भनिन, ‘कुनै बेला नेपालको महिला भलिबलको टिम पश्चिमाञ्चलले धानेको थियो। तर अहिले खेलाडी नै छैनन्। सबै खेलाडी पलायन भईसके।’

उनका अनुसार धेरैजसो खेलाडीहरु विभागिय टोलीमा आवद्ध भएको उल्लेख गर्दै रिटायर्डमेन्टपछि खेलाडीको भविष्य सुनिश्चित गर्ने तर्फ ध्यान दिनुपर्छ। खेलाडी सम्मानले खेलाडीको हौसला थपिने बताउँदै खेलाडी हौसलासँगै संरक्षण हुन्छन भन्ने अपेक्षा रहेको उनको भनाई थियो।  nagariknews.com

Leave a Reply