म्याग्दीको धबलागिरी गाउँपालिका-१, गूर्जाका ५० वर्षीय रामबहादुर छन्त्यालको जीवन गोठमा बसेर वित्यो ।‘टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन’ भन्ने उखानले चिनिने गूर्जाको अप्ठ्यारो भूगोलमा भेडाको गोठालो बनेर हुर्किएका रामबहादुरको सधैजसो लेक र बेसीतिरको भेडाको बथानसँगै हुन्थे। हरेक बर्ष हिउँदको समयमा गाउँबाट महिना दिनलाई पुग्ने खाद्यान्न सहित झिटीगुन्टा च्यापेर रामबहादुर भेडाको बथान लिएर बुकी पुगेका थिए।

पुस महिनाको कठ्याग्रिदो जाडोमा श्रीमति जगमायाँ र गाउँका दुई जना गोठालासँगै सुकेलोट्ने भेडीगोटमा पुगेका रामबहादुरको गत बिहिबार दिउँसो भेडी गोठ नजिकैको हिउँपहिरोमा पुरिए। हरेक बर्ष काहलीलाग्दो हिउँलाई थिचोल्दै भेडी गोठसम्म पुग्ने गरेका रामबहादुर हिमपातपछि अर्को गोठमा जाने क्रममा चिप्लिएर खोंचमा लडेर बेपत्ता भए।

श्रीमानसँगै गोठमा पुगेकी जगमायाँको रंगिन सपना सेकेन्डमै चाँदी जस्तै टल्किने हिउँले पुरिदियो। श्रीमानको पेशासँगै रमाइरहेकी जगमायाँको जीवनलाई हिमपहिरोले अँध्यारो छरिदियो। हिउँ पहिरोमा पुरिएका श्रीमानलाई जोगाउन गरिएको प्रयास सफल हुन सकेन् ।

बेपत्ता छन्त्यालसँगै गएकी श्रीमति जगदेबी घर फर्किएकी छन् भने बुद्धि छन्त्यालर लालबहादुर विक बुकीमै छन्। ३ छोरा, एक छोरी, श्रीमतिसँगै भेडापालनमा सक्रिय रामबहादुरले गतबर्ष छोरीलाई गुमाएका थिए। हिमपातको संकेत देखिदाँ बित्तिकै गाउँ झर्ने तरखरमा रहेका रामबहादुर दम्पत्ती र अन्य गोठालाहरू चारैतिरबाट हिउँको घेराबन्दीमा परेका थिए।File photo\Google 

बुढेशकालतर्फ प्रवेश गरेका रामबहादुरले सामान्य भेडापालनलाई दुई बर्ष अगाडी थप ब्यवस्थित बनाउँदै ३ सयको हाराहारीमा भेडा पालेका थिए।केही बर्ष भेडापालन गरी विश्राम लिने योजना सुनाउने गरेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। ‘बालापनबाटै भेडापालनमा हुनुहुन्थ्यो,‘भेडासंगै दौडिने उहाँको दैनिकी हिउँ पहिरोले रोकिदियो’ छन्त्यालले भने ।

उनले गाउँका अनुभवी र सहयोगी मनका धनी रामबहादुर गोठालो जीवनमा सन्तुष्ट थिए।उनले गाउँमा ३ हजारभन्दा बढी भेडाहरूसँगै गोठालाले हत्केलामा ज्यान राखेर बुकीमा दैनिकी बिताउने परेको बताए। ‘सेतो हिउँमा गोठालाको डरलाग्दो काहनी पोतिएको छ,‘हिमपहिरो र बन्यजन्तुको जोखिममा दिनरात विताउनुपर्छ’ वडा अध्यक्ष छन्त्यालले भने।

बस्तीभन्दा निकै टाढासम्म पुगेर आफ्नो दैनिक जीवनमा ब्यस्त हुने गूर्जाबासीलाई मंसिर देखि फागुन महिनासम्म सताम्मे हिउँको घुम्टोभित्र कष्टकर जीवन बिताउनुपर्छ ।  पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटक हिउँसँग रमाइरहदा गूर्जाबासीले भने करिब चार महिना हिउँबाट ज्यान जोगाउन निकै संघर्ष गर्नुपर्छ ।

चुरेन, पुथा र गुर्जा हिमाल सहित आधा दर्जन हिमालको फेदीमा अवस्थित गूर्जाबाट हिउँलाई थिचोल्दै छिमेकी बस्ती लुलाङसम्मको यात्रा समेत सहजै गर्न पाउँर्दैनन्।पदमार्गमै कडा चट्टा जस्तै जमेर बसेको हिउँलाई पन्छाउनै सकस हुन्छ । हिमालको काखमा हिउँसँगै हुर्किएका गूर्जाबासी हिउँकै जोखिमबाट जोगिन हम्मेहम्मे पर्छ । २०७५ साल असोज २७ गते गूर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा एक स्थानीय यूवा सहित ४ नेपाली र ५ कोरियाली नागरिकले ज्यान गुमाएका थिए ।

गूर्जामा बुकी, बेसक्याम्पमा आवतजावत तथा घाँसपात गर्दा दुर्घटनामा पर्ने गरेका छन् । संसारका ८ हजार मिटर अग्ला हिमालहरुमध्ये म्याग्दी जिल्लामा संसारकै सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटर र ८,१६४ मिटर अग्लो अन्नपूर्ण हिमाल पर्छ । यसैगरी ६ हजार मिटरभन्दा अग्ला ५१ ओटा हिमालका चुचुराहरुमध्ये धौलागिरी हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् ।

Leave a Reply