म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाबाट पुनः चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।

साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध्यक्षमा कमला अधिकारी र सहसचिवमा रजिता घिमिरे शर्मा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा सोचिना खड्का, होमकुमारी रेग्मी, कोपिला खत्री, जमुना पुन पूर्जा, राधिका रेग्मी, रचना शाही, कमला खत्री, विष्णु घर्ती क्षत्री, कोपिला केसी र थुमा खड्का चयन हुनुभएको छ ।

लेखा समिति संयोजकमा पशुपति शाही, सदस्यमा कल्पना आचार्य र खुमा सापकोटालाई चयन भएको सहकारीले जनाएको छ । यसैगरी ऋण उपसमिति संयोजकमा सोचिना खड्का, सदस्यमा शर्मिला पुन, रामकुमारी गौचन, लक्ष्मी आचार्य, निर्मला पौडेल, शारदा राना र नरु थजाली रहनुभएको छ भने शिक्षा उपसमिति संयोजकमा सावित्री आचार्य, सदस्यमा चण्डिका पौडेल र राधा बानियाँ चयन हुनुभएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दिलमाया बिटालुले प्रस्तावित कार्यक्रमसहित प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गा केसीले आर्थिक, लेखा समिति संयोजक पशुपति शाहीले लेखा र ऋण उपसमिति संयोजक सोचिना खड्काले ऋणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षसम्म संस्थामा कुल शेयर सदस्य ४ सय ८७ जना रहेकोमा शेयर पुँजी ८१ लाख ८९ हजार, लगानी एक करोड ७० लाख ८० हजार नौसय १० रुपैयाँ र बचत एक करोड ५४ लाख ७५ हजार चारसय पाँच रुपैयाँ रहेको छ ।

साधारणसभाले प्रस्तावित कार्यक्रमतर्फ संस्थाको विनियम संशोधन, विधि, नीतिनियम र कार्यविधि पारित गर्नुका साथै आगामी दिनमा गहना बचत योजना, आपत्विपद्मा परेका सुत्केरी महिलालाई सहुलियत दिने, सरोकारवालासँग समन्वय तथा समुदायमा पुगेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि पारित गरेको छ । साधारणसभाको अवसरमा दैनिक बचततर्फ जमुना पूर्जा पुन, मासिकतर्फ तुलकुमारी गैरे, आवधिक मनकुमारी बानियाँ, असल कारोबारकर्ता सुर्यकुमारी खत्री, उत्कृष्ट व्यवसायी देवी विक, कर्मचारीतर्फ व्यवस्थापक धनकुमारी अर्मजा र सञ्चालक समितिबाट उपाध्यक्ष देवी आचार्यलाई प्रमाणपत्रसहित मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की (बिखर्ची)ले सहकारी संघसंस्थाले समुदायमा रोजगारीको सिर्जना गरी गरिबी निवारण गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले सहकारी संस्थामा बचत तथा ऋणको मात्र कारोबार नगरी सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने भन्दै व्यावसायिक तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक उजेली उपाध्याय, पूर्व अध्यक्ष देवी केसी, सल्लाहकार रेखाकौशल रेग्मी, पूर्व कर्मचारी विष्णु सापकोटा, शेयर सदस्य जमुना आचार्य र सम्मानित व्यक्ति देवी विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चिना बानियाँको अध्यक्षता, निवर्तमान उपाध्यक्ष देवी आचार्यको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply