प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बिबेकशिल प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधबार बेनीमा भएको पत्रकारिता आचार संहिता जागरण अभियान कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

“दर्ता भएका पत्रकारिता, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ,” उहाँले भन्नुभयो “प्रबिधीको बिकाससँगै पाएको सुबिधालाई धन आर्जन गर्ने मात्र नभई समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।” अध्यक्ष बस्नेतले बिगत तीन बर्षदेखि रोकिएको पत्रपत्रिकाको बर्गिकरणको नजिता छिट्टै सार्वजनिक र अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउन बर्गीकरणको प्रक्रियामा लगिने बताउनुभयो ।

पत्रकारितालाई जिम्मेवार, मर्यादित र बिश्वसनीय बनाउनका लागि पेशामा शुद्धीकरण गर्नुपर्ने देखिएको अध्यक्ष बस्नेतको भनाई थियो । कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधीहरुले वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रबिधीको बिकाससँगै थपिएको पत्रकार आचार संहिता पालनाको चुनौति घटाउन देशब्यापी जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । “आचारसंहितामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,” उहाँले भन्नुभयो “पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसंहिता पालना गर्नु अनिवार्य सर्त हो ।”

काउन्सिलका अनुगमनकर्ता गिता कठायतले देशभरका, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारहरुको आचार संहिता पालनाको अवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तत्थ्यपरक र बिश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोककल्याणकारी बिज्ञापन प्रकाशन वापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलले जिल्लाका पत्रकार आचारसंहिताको बिषयमा संबेदनशिल रहेको बताउनुभयो । कार्यक्रममा ४० जना भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरुले भाग लिएका नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिब सन्तोष गौतमले जानकारी दिनुभयो ।

Leave a Reply