साहसिक खेलको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन सञ्चालनमा आएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन अंग्रेजी नयाँ बर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो ।

सबै परिक्षण सकेर एक हप्ता भित्रमा जीपलाईन सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी रहेको हार्नेस जिपलाइन प्रा.लिका कार्यकारी प्रमुख सुनिल बाँनियाले जानकारी दिनुभयो । ‘प्राबिधीक परिक्षणका काम भैरहेका छन।’ उहाँले भन्नुभयो‘यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौ’जीपलाईनमा दुई जनाले संगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तब्यमा पुगिनेछ । जीपलाईन भारतको श्याम जीपलाईनले निर्माण गरेको हो ।

निर्माण कम्पनीका इन्जिनियर नविन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ । कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारको रिसोर्टमा हुनेछ।

सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ। जीप लाईन संगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोट संगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य सहासिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो ।

Leave a Reply