न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि म्याग्दीले ६३ करोड भन्दा बढी लगानी गरेको छ । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरी सेयर सदस्यलाई सेवा प्रवाह गरिरहेको सहकारीको गत आर्थिक वर्षमा ५ हजार १७८ शेयर सदस्यको ७ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा सहकारीले निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैयाँ, कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैया रहेको छ ।

सहकारीले सोही अवधिमा विभिन्न कोषमा २ करोड १९ लाख ६८ हजार ७९७ रुपैयाँ, कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैयाँ र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ र मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ गरेको सहकारी बरिष्ठ ब्यवस्थापक बसन्त श्रेष्ठले बताउनुभयो ।

म्याग्दीमा रेमिट्यान्स कारोबारमा सबैभन्दा अगाडी रहेको सहकारीले स्थानीय तहमा शाखा विस्तार गरेपछि लगानी र निक्षेपमा उल्लेखनीय बृद्धि गरेको जनाएको छ । बुधबार बेनीनगरपालिका–४ सिंगा तातोपानीमा सम्पन्न भएको संस्थाको २२ औँ बार्षिक साधारणसभा उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले गर्नुभएको थियो।

रजिष्ट्रार पराजुलीले सहकारी संस्थाले सहकारी मूल्य, मान्यता, सिद्धान्त, र प्रचलित सहकारी कानुन बमोजिम अघि बढाउन आग्रह गर्नुभयो । उहाँले बचत र ऋण लगानीको कारोवारले मात्रै सहकारीको भविष्य नभएको बताउदै उत्पादनमुलक कृषि पर्यटन लगायतको क्षेत्रमा लगानी बढाउन सहकारी संचालक र शेयर सदस्यहरुले सहकार्य गर्न सुझाव दिनुभयो ।

त्यस्तै मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले सहकारी र स्थानीय तह मिलेर उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँले निकट भविस्यमा छिमेकी जिल्ला बागलुङ र गण्डकी प्रदेशको राजधानी पोखरामा शाखा विस्तार गरी प्रदेशस्तरीय सहकारी बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले वित्तिय कारोबारसँगै उत्पादनमुखी क्षेत्रमा लगानीका लागि सम्भावित क्षेत्रको पहिचान समेत गरिएको अध्यक्ष बानियाँको भनाई छ । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सेवा केन्द्र तातोपानी शाखाका संयोजक तुलबहादुर श्रेष्ठ र प्रवन्धक नरबहादुर थापा सहित पाचँजनालाई सम्मान समेत गरेको थियो ।

सोही अवसरमा सामाजिक तथा मानवीय सेवामा समेत अग्रसर सहकारीले म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैयाँ छात्रवृति सहकारीले हस्तान्तरण गरेको थियो ।

साधारणसभाको अवसरमा बेनपा ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, रजिष्ट्रार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्ले, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, शेयर सदस्य टिकाराम आचार्य, हिरा शर्माले शुभकामन ामन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत, सचिव रामजीप्रसाद सुबेदीले सञ्चालन गर्नुभएको साधारण सभामा कोषाध्यक्ष चन्द्रकुमार केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

Leave a Reply