गण्डकी प्रदेशका खेलाडीकै कारण भलिबल लोकप्रिय भएको हो : अरुणा

0

नेपाली राष्ट्रिय महिला टोली भर्खरै बंगलादेशमा सम्पन्न सेन्ट्रलजोन भलिबलको उपाधि उचाल्दै स्वदेश फर्कियो । दोस्रोपटक च्याम्पियन बन्दा टोलीमा गण्डकी प्रदेशका ४ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए । टिमको कप्तानसमेत गण्डकी प्रदेशकै अरुणा शाहीले गरेकी थिइन् ।

कुनैबेला महिला भलिबलमा गर्विलो इतिहास बनाएको साविक पश्चिमाञ्चल हाल गण्डकी प्रदेशसँग महिला टिम नै छैन । गण्डकी प्रदेशको महिला टिमलाई पुनः जागरण खेलाडी विकास र भलिबलको विकास के कसरी गर्न सकिन्छ र खेलाडीको अवस्थाका बारेमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई हामीले सुरुमा भन्याँैं–

सर्वप्रथम बधाई । सेन्ट्रलजोन भलिबल प्रतियोगिता समग्रमा कस्तो रह्यो ?

धन्यवाद छ हजुरलाई । समग्रमा भन्नुपर्दा खेल राम्रो रह्यो । अघिल्लो संस्करणमा च्याम्पियन हुँदा र अहिले च्याम्पियन हुँदा धेरै फरक छ । अहिले चाहिँ हामीले धेरै बलियो टिमहरुसँग प्रतिस्पर्धा ग¥यौ । श्रीलंका, उज्वेकीस्तानजस्ता टिमलाई पनि जितेर आउँदा छुट्टै अनुभव भइरहेको थियो ।

दोस्रो पटक च्याम्पियन हुँदैगर्दा टोलीमा नयाँ अनुहार पनि थिए । नयाँ खेलाडीसँगै खेल्दा कत्तिको गाह्रो भयो ?

गाह्रो त भयो । हाम्रो टिममा नयाँ डेब्यु गर्ने खेलाडी बहिनीहरु हुनुहुन्थ्यो । नयाँ र पुरानो खेलाडीको मिश्रणले सुरुका खेलमा केही समस्या परेकै हो । हामीले प्रशिक्षणमात्रै ग¥यौ तर मैत्रीपूर्ण खेलहरु खेलेनौँ । सोझै गएर श्रीलंकासँग खेल्यौँ । त्यसैले पनि सिनियर र जुनियर खेलाडीबीच कम्युनिकेशन अलिकति मिलेन । र, अर्को कुरा भनेको हामीले खेल खेल्नुभन्दा अघि पनि प्रशिक्षण गर्ने वातावरण मिलिरहेको थिएन ।

भनेको नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अगावै कुनै खेल र प्रशिक्षण पाएन ? हतारमा बनाएका हो ?

त्यस्तो होइन । त्यसलाई हतारमा भन्नचाहिँ मिल्दैन । देशभरका उत्कृष्ट खेलाडीहरुलाई छनोट गरेर ल्याएको हो । हाम्रो संघसँग आर्थिक अभाव र कोभिडका कारण पनि मैत्रीपूर्ण खेल खेल्न पाएनौँ । तर, टिम पहिलाको भन्दा पनि बलियो भएको छ । हामीले अन्य राष्ट्रसँग मैत्रीपूर्ण खेल्न पाएनौँ भन्नेमात्रै हो ।

टिममा ३ नयाँ अनुहार थिए । डेब्यु गरिहेका थिए । उहाँहरुको प्रदर्शन कस्तो थियो ?

अहिले नढाँटीभन्दा नयाँ खेलाडीबाट म निकै सन्तुष्ट छु । नयाँ बहिनीहरुले डेब्यु खेलमै जुन खेल देखाउनुभयो, त्यो देखेर एकदमै खुसी छु र अलिकति सिनियर खेलाडीबाटै खेल स्तरमा कमी भएको हो कि भन्ने महशुुस भइरहेको थियो ।

नेपालको सन्दर्भमा भन्नुपर्दा उपाधि जितेमामात्रै राज्यको आँखा जाने देखिन्छ । उदाहरण सोही प्रतियोगिता खेलेर फर्किएको पुरुष टोली नै छ । के सरकारले पदक मात्रै हेरेको हो ?

वेवास्ता गरेको भन्दा पनि सिस्टम नै नबसेको हो । हाम्रो सरकारले खेललाई कुन मार्गबाट अघि बढाउने भन्ने कुराको सिस्टम नै नबसालेको कारणले गर्दा यस्तो भएको हो । हामीले अहिलेसम्म हेर्दा जतिबेला मेडल ल्याउँछौँ त्यतिबेला मात्रै राज्यले पनि सम्मान गर्ने गरेको पाउँछौँ । कल्चर नै त्यस्तो छ । जित्दा त त्यो पायौँ रे अरु बेला हार्दा के छ ? त्यतिबेला निराश बनाउँछ । अहिले हामी महिला टिम च्याम्पियन बनेर आयौँ ।आखिर पुरुष टिम पनि त चौथो स्थानमा थियो नि । कमसेकम उहाँहरुलाई फूलको गुच्छासम्म दिएको भएपनि त हुने थियो । त्यसले आगामी दिनमा अझ हौसला मिल्ने थियो नि । राम्रो प्रदर्शन गर्दागर्दै मेडल बाट बञ्चित भएर आएको हो । एउटा खेल जित्नलाई हामीले धेरै मिहिनेत र लगानी गर्छौं । त्यही लगानीजस्तै आवश्यक खेल सामग्री पनि होस् ।

गण्डकी प्रदेश खेलकुद मन्त्रालयकले प्रदेशका ४ खेलाडीलाई सम्मान ग¥यो । प्रदेशको ४ जना राष्ट्रिय टिममा पनि हुनुहुन्छ तर प्रदेशको आफ्नै टिम छैन नि ?

हो,यसले मलाई निकै दुःख लाग्छ । मैले बारम्बार भन्ने पनि गरेकी छु । हाम्रो भलिबलको क्रेज यहाँसम्म ल्याउने कामको सुरुवात गरेकै पोखराले हो । ज्ञानुबाबा, टप्स र फिस्टेल स्कूलले पहिला निकै खेलाडी उत्पादन गरेको हो । नेपालमा जहाँ पनि प्रथम,द्धितीय र तृतीय हुने भनेको पोखरा नै हो । यी ३ स्कूल नै हो बलियो भनेको । अहिले खोइ त ? छैन नि त । अब स्थानीय सरकारले पुनःजागरण गराउन पर्छ जस्तो लाग्छ । विद्यालयस्तरीय प्रतियोगिताहरु आयोजना गर्नुपर्छ । विद्यालयहरुलाई इन्करेज गरेर अघि बढ्ने हो भने सबै विद्यालयले खेलाडी उत्पादन गर्न सक्छ जस्तो मलाइ लाग्छ । पहिला आफ्नै खर्चमा राखेको थियो । कतिवर्ष त राख्न सक्छ र ? त्यसैले अब सरकारले पनि सहयोग गर्न जरुरी छ । अब ग्रासरुटबाटै जानुपर्ने स्थिति आएको छ ।

यो विषय तपाईँले बारम्बार उठाउँदै आउनुभएको पनि हो । देशले कप्तान पाएको छ । गण्डकी प्रदेशकै खेलाडीले उठाएको आवाजमा राज्यले ध्यान नदिएको देखिन्छ । खेलाडीले मेडल ल्याउने तर राज्यले खेलाडी उत्पादन र विकासमा वेवास्ता गरेजस्तो लाग्दैन ?

पहिलाभन्दा अहिले केही परिवर्तन आइरहेको छ । वेवास्ता गरेको भन्दा पनि चासो नदेखाएको हो कि भन्ने छ । अर्को कुरा भनेको गण्डकीका राम्रा खेलाडी पनि छन् । उनीहरुको संरक्षण हुन नसक्दा प्रदेशको आफ्नै टिम बन्न नसकेको मलाई लाग्छ । पहिलोपटक प्रदेशले खेलाडी सम्मान गरेको छ यो एकदमै खुसीको कुरा हो । अब त कमसेकम सम्मान त पाइँदो रहेछ भनेर सकरात्मक सोचले अघि बढ्न सकिने देखिएको छ । आउँदा दिनमा अझै राम्रो गर्दै जाओस् भन्ने अपेक्षा हाम्रो छ ।

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिताको कामै छैन भन्नुभयो खेलाडीका लागि राष्ट्रिय खेलकुद भनेको ठूलो प्रतियोगिता हो । के राष्ट्रिय खेलकुद काम नलाग्ने नै हो त ?

त्यो सुन्दा एकदमै नरमाइलो लाग्यो । हामी खेलाडीमा मात्रै होइन खेल पदाधिकारीलाई पनि सायद नरमाइलो नै लाग्यो होला । हाम्रो अभिभावक भनेकै प्रदेश हो । घर सरकार हो । आफ्नो अभिभावकले नै काम छैन, बजेट छैन यस्तो छ, उस्तो छ भन्दा हामीलाई के भयो होला, त्यो अवस्थामा ? अवश्य डिमोटेड भयौँ । हामीलाई त जतिसक्दो खेल भइदियोस् भन्ने हुन्छ । जतिधेरै प्रतियोगिता भयो उति नै धेरै खेलस्तर बढ्दै जाने हो । जिल्ला प्रदेशस्तरका खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरमा जानका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नै पहिलो खुड्किलो हो । नयाँ खेलाडीले अवसर पाउने हो । सबैले आफ्नो स्तरको भरपुर प्रदर्शन गर्ने भनेकै राष्ट्रिय खेलकुद प्रतियोगितामा त हो नि ।
|
अब टाइगरकप तर्फ जाऊँ, दोस्रो संस्करणको टाइगरकपमा आयोजकको टिमबाट खेल्दै हुनुहुन्छ टिमको तयारी कस्तो छ ?

मैले अघि नै पनि भनेँ नि, हामीसँग टिम नै छैन । पहिला टिममा पर्नलाई हानथाप हुन्थ्यो । अहिले खेलाडी खोज्न हम्मेहम्मे परेको छ । २६ गतेदेखि खेल छ, अहिलेसम्म टिम पुगिरहेको छैन । को–को खेल्ने, के गर्ने भन्ने नै अन्योल छ । सधैँ यसरी चल्दैन । अब त केही गर्नैपर्छ । हामी राष्ट्रिय टिममा ४ जना छाँै । सातवटा प्रदेशमा एकै प्रदेशबाट ४ जना राष्ट्रिय टिममा पर्नु भनेको त राम्रो कुरा हो तर पनि हाम्रो आफ्नै टिम नहुँदा लाजमर्दो भएको छ ।

गण्डकी प्रदेशले सहायक प्रशिक्षकको प्रशिक्षण दिइरहेको छ । तपाईं स्वयं पनि प्रशिक्षण सामेल हुनुहुन्थ्यो नि !

समय मिल्दासम्म लिएकै हुँ । बंगलादेशमा जाँदा हामीलाई धेरै मोबाइल चलाउन बन्देज लगाइयो । धेरै क्लास छुटिरहेको थियो ।सक्षम प्रशिक्षक भएमात्र त राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने हो ।

अन्त्यमा अब भलिबल खेल विकासका लागि प्रदेश सरकारले के गर्नुपर्दछ ?

सर्वप्रथम त मैले अघि नै भनेकै कुरामा ध्यान दिन जरुरी छ । ग्रासरुटबाट जानुपर्छ । अर्को कुरा भनेको पूर्वाधार हुनुपर्दछ । भलिबलको एउटा इन्डोर हलचाहिँ हुनैपर्छ । यो ७ वटै प्रदेशमा हुन आवश्यक छ । त्यसपछि भनेको राम्रो इक्युपमेन्ट चाहियो । अहिले कति एडभान्स इक्युप्मेन्ट आइसक्यो तर हामीसँग केही पनि छैन् । अहिले सक्षम प्रक्षिकहरु पनि निकै कम छन् । मैले कति ठाउँमा हेरिरहेको हुन्छ । प्रशिक्षकले खेलबारे केही जानेकै हुँदैन । आफू खेल्न नजान्ने अनि खेलाडीलाई कसरी सिकाउँछ ? अर्को मुख्य कुरा भनेको खेलाडीका लागि खेलुन्जेलसम्म खेल्यो र पछि भविष्यको लागि पनि केही गर्नैपर्छ । खेलजीवन सकिएपछि केही गरेर खाने वातावरण राज्यले मिलाइ दिनुप¥यो । सरकारले खेलाडीको करिअरको बारेमा सोचोस !

Leave a Reply