राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय अध्यक्षमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष रावलले महाधिवेशनको कार्यतालिकासँगै आफ्नो तयारी थाल्नुभएको छ ।

यूवा संघको जिल्ला, क्षेत्र, प्रदेश हुदैं केन्द्रीय कमिटीका विभिन्न तहमा नेतृत्व गर्नुभएका रावलले आफ्नो दावीसँगै महाधिवेशनको तयारीमा जुटेको बताउनुभयो । ‘मेरो अब जाने बाटो नै अध्यक्षमा हो,‘त्यहाँभन्दा दायाँबायाँ गर्ने अवस्था छैन’ रावलले बेनीअनलाइनलाई भन्नुभयो ।

यूवा संघमा रावललाई अध्यक्षमा अगाडी सार्न हालका अध्यक्ष सहित अधिकांसले सर्मथन समेत जनाएकाले सहज भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकट तथा यूवा संघका इन्र्चाज महेश बस्नेतसँग समेत राम्रो सम्बन्ध रहेकाले रावललाई यसपटक सहज रहेको स्रोतको भनाई छ ।

यूवा संघले आगामी पौष २८– २९ गते सचिवालय बैठक पोखरामा आयोजना गर्नेका साथै आगामी डेढ महिना भित्र सम्पूर्ण तहको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

अधिवेशन कार्यतालिका अनुसार देशभर एकैदिन माघ ७ गते वडा तह, माघ १५ गते पालिका तह, माघ २२ गते जिल्ला तह र माघ २९ गते प्रदेश कमिटी तह र फाल्गुन ११–१३ गते सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय भएको संघका उपमहासचिव रामजी सापकोटाले बताए ।

संघका हालका अध्यक्ष किरण पौडेल नेकपा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अध्यक्षमा समकालिन अन्य नेता चुनिने निश्चित भएकाले अध्यक्षमा रावलसँग उपाध्यक्षहरु, क्षितिज थेवे, अमित लामा र महासचिव रमेश आचार्यको चर्चा छ । संघ हाल तदर्थ कमिटीबाट चल्दै आएको र केन्द्रीय कमिटी बैठक बस्नै ठूलो पार्टी प्यालेस चाहिने अवस्थाबाट मुक्त हुँदै अबको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने पनि जनाइएको छ ।

Leave a Reply