माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न यसपटक माघे संक्रान्ति मेला लाग्ने भएको छ । कोरोना भाइरसको पहिलो र दोस्रो लहरसँगै नियमित हुने मेला–महोत्सव सञ्चालन हुन नसकेको अवस्थामा आगामी पौस ३० देखि माघ २ गतेसम्म गरिने भएको हो।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा बेनीको खुल्लामञ्चमा मेलाको आयोजना गरिने समितिकी अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

‘सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छौ,‘सभ्य र भब्यरुपमा मनाउने तयारीमा छौ’ अध्यक्ष भण्डारीले भन्नुभयो । मेलाको आयोजना गरिने विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएकी भण्डारीले मेलामा हुने खेलकुद सहितका अन्य गतिविधिका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताउनुभएको छ ।

मेलामा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टल राखिने छ भने खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु समेत सञ्चालन हुने जनाइएको छ । मेलाको अवसरमा सदरमुकाम बेनीमा जातिय भेषभुषा सहित बजार परिक्रममा, नृत्य प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने जनाइएको छ।

म्याग्दी उद्योग वाणिज्य संघका बेलबहादुर कटुवालले मेला सञ्चालन गरिने भएपनि तीन दिनको अवधिलाई समेटेर कार्यक्रमहरु तय गरिने जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जोखिमलाई मध्यनजर गरी मेला सञ्चालन गरिने छ । म्याग्दी उवासंघले हरेक तीन बर्षमा म्याग्दी महोत्सव र प्रत्येक बर्ष माघे संक्रान्ति मेलाको आयोजना गर्ने गरेको भएपनि कोरोना भाइरसको जोखिम तथा संक्रमणको जोखिमका कारण विगत दुई बर्ष देखि रोकिएको थियो ।

Leave a Reply