म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्कलाई ब्यवस्थित बनाउन उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा ११ सदस्यीय कालिपुल बसपार्क ब्यवस्थापन समिति गठन भएको छ ।

तदर्थ समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिव ललित पुन, कोषाध्यक्ष सरिता शेरचन, सदस्यहरुमा सुरत केसी, विजयकुमार श्रेष्ठ, सुरेन्द्रराज शर्मा, नारायण गर्बुजा पुन, यज्ञ बहादुर थापा, जमुना गर्बुजा पुन र भिमबहादुर विक हुनुहुन्छ । अध्यक्ष कर्माचार्य म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उवासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार समेत रहेका बसपार्कको ब्यवस्थापन तथा समस्या समाधानमा समितिले काम गर्ने अध्यक्ष कर्माचार्यले बताउनुभयो । जिल्लाको मुख्य बसपार्क नै पूर्वाधारको अभावमा लथालिङ भइरहेको अवस्थामा समितिले निर्माणधिन अवस्थामा रहेको संरचनालाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई दवाव दिने छ ।

बसपार्कलाई स्मार्ट बसपार्क बनाउन २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि थोरै मात्र बजेट विनियोजन हुदाँ बसपार्क अलपत्र छ । बार्षिक न्यून बजेट विनियोजन हुदाँ समस्या भइरहेको अवस्थामा बहुबर्षिय योजनामा बसपार्कलाई समेट्न नगरपालिकाले समेत पटकपटक माग गर्ने गरेको छ ।

स्मार्ट बसपार्कका लागि टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगाएत नमुना बसपार्क बनाउन आवश्यक पर्ने जनाइएको छ । दैनिक २ सय सवारीसाधन भित्रिने भएपनि ३० वटालाई समेत पार्किङ गर्न नमिल्ने संरचना प्रस्ताव सहितको प्रस्तावमा बजेट अभाव भएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो ।

कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको स्थानीयबासीको गुनासो छ। करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

 

Leave a Reply