राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला खण्डको म्याग्दीको दाना र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा सडक चौडा गर्न शुक्रबारदेखि ब्लास्टिङ सुरु गरिएको छ ।

सडकखण्डको सबैभन्दा जोखिम म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सडक चौडा गर्न पटक÷पटक ब्लास्टिङ गर्ने काम भएको हो । कालिगण्डकी करिडोर अन्तर्गत निर्माणधिन कोरला सडकको काभ्रेभीरमा ब्लास्टिङ गर्नका लागि प्रशासनिक प्रक्रिया पूरा गरी जोमसोम स्थित बज्रदल गणमा १५० केजी बिस्फोटक पदार्थ (जिलेटिङ) आईपुगेको जनाईएको छ ।

बेनी–जोमसोम–कोरला सडक ११ मिटर चौडा हुने भएपनि काभ्रेभीर क्षेत्रमा करिब ६ देखि ७ मिटर सम्मको मात्र हुने आयोजना प्रमुख जगत प्रजापतीले बताउनुभयो । काभ्रेभीरमा ११ मिटरको सडक स्तरोन्नति सम्भव नभएकाले दुईतर्फी सवारी पास हुने गरी सडक चौडा गरिने प्रमुख प्रजापतिको भनाई छ ।

नेपाली सेनाको सुरक्षा निगरानीमा शर्मा गजुरमुखी कन्ट्रक्सनले शुक्रबार देखि ब्लास्टिङको काम अघि बढाएको आयोजनाले जनाएको छ । काभ्रेभीरमा १६ सय मिटर सडकको ब्लास्टिङ गर्नुपर्नेमा ४ सय मिटरको ब्लास्टिङ सकिएको छ ।

काभ्रेभीरमा बाँकी रहेको १४ सय मिटर सडक चौडा गर्न १० टन बिस्फोटक पदार्थ (जिलेटिङ) आवश्यक पर्छ । बेनी–जोमसोम सडकको काभे्रभीरमा सवारी आउजाउ कम हुने समय मिलाएर ब्लास्टिङको काम अघि बढेको सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले बताउनुभयो । सडकखण्डमा थप विष्फोटक पर्दाथको आवश्यता भएकाले नेपाल सरकारमार्फत स्वीकृति मागिएको छ ।

कालिगण्डकी करिडोर जोमसोमले कोरला सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलासम्मको भौतिक प्रगती ६४ प्रतिशत सम्पन्न भएको जनाएको छ । यस्तै, बेनी–जोमसोम ७६ किमी सडक अन्तर्गत राहुघाटदेखि तातोपानीसम्मको ६५ प्रतिशत, तातोपानीदेखि घासासम्मको ६० प्रतिशत, घासादेखि कोवाङसम्मको ८५ प्रतिशत र कोवाङदेखि जोमसोमसम्म ६३ प्रतिशत भौतिक प्रगती छ । मुस्ताङको घाँसादेखि कोवाङ १६ किमी र कोवाङदेखि जोमसोम १८ किमी सडक मध्ये दुबै गरी २२ किमी सडकको अस्फाल्ट कालोपत्रे भईसकेको छ ।

शर्मा गजुरमुखीले १२ किमी र पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपानेले जेभीले ८ किमी कालोपत्रे गरेको हो ।राष्ट्रिय गौरवको कोरला सडकखण्डको स्तरोन्नति आव २०७३÷०७४ सालदेखि सुरु गरिएको थियो । बेनी–जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम–कोरला ११० किमी ७ खण्डमा काम भईरहेको थियो ।

Leave a Reply